फेसबुकमा भाइरल २ सूचना : नेवार जातिलाई मात्रै सिफारिस ! तास फिट्दा कोरोना सर्छ !

फेसबुकमा भाइरल २ सूचना : नेवार जातिलाई मात्रै सिफारिस ! तास फिट्दा कोरोना सर्छ !

केन्द्रबिन्दु
0
Shares

एकैदिन जारी गरिएको दुई वटा सूचना अहिले सामाजिक सञ्जालहरुमा निकै भाइरल भइरहेको छ । गत वैशाख २३ गते जारी गरिएका दुई सूचनामध्ये एउटा काभ्रेको पनौती नगरपालिका वडा नम्वर ७ को हो भने अर्काे सूचना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्वर १ को हो ।

नेवारबाहेक अरु समुदायलाई घर जग्गा विक्रि गर्न नपाइने

सांस्कृतिकरूपले धनी ठाउँ हो काभ्रेको पनौती । यो ठाउँलाई नेवार समुदायको पहिचानकारूपमा पनि लिइन्छ । यहाँको पुरानो बजार स्मारक क्षेत्र विश्व सम्पदा सूचिमा सुचिकृत हुने क्रममा छ ।

यही क्षेत्र पर्ने ७ नम्वर वडा कार्यालयले गत २३ गते एउटा सूचना जारी गरेको गरेको थियो जुन अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । स्थानीय निकायलाई गिज्याउँदै भाइरल भइरहेको उक्त सूचनामा एउटा खास समुदायलाई मात्रै घर जग्गा बिक्रि गर्न पाइने उल्लेख छ ।

पुरानो बजार स्मारक क्षेत्रभित्र नेवार समुदायको बाहुल्यता भएको र धर्म संस्कृति तथा पुरातात्विक सम्पदा जोगाउनु परेकाले पुरानो घर तथा जग्गाधनीहरूले नेवार जातिवाहेक अन्य जातजातिलाई बिक्रि नगर्न अनुरोध गरिएको छ । वडाका भद्रभलाड्मीहरू ताकेतापछि यो निर्णय भएको पनि सूचनामा उल्लेख ।

‘नेवार जाति वाहेक अन्य जातजातिहरुलाई बेचबिखन गर्नका लागि घरबाटोको मुल्यांकन सिफारिस लिन आएको खण्डमा सिफारिस गर्नु भएन भनी यस वडाका भद्रभलाड्मीहरुले यस कार्यालयमा आइ पटकपटक गुनासो गरेको हुँदा वैशाख २३ गते बसेको बैठकले नेवार जातिवाहेक अन्य जातिलाई घर बेचबिखन गर्नका लागि सिफारिस लिन आएमा घरधनीहरूलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएको सूचित गरिन्छ ।’ वडाध्यक्ष रामचन्द्र नास्नानीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

सूचना सार्वजनिक भएपछि हामीले यसको वास्तविकता बुझ्न वडाध्यक्ष नास्नानीलाई सम्पर्क गर्‍यौं । उनले पनि सूचना वास्तविकता नै भएको र सम्पदा क्षेत्र जोगाउन सूचना जारी गरिएको स्वीकार गरे । उनले वडाको सबै ठाउँका लागि नभई पनौती पुरानो बजार क्षेत्रका लागि मात्रै सूचना प्रकाशन गरिएको बताए । उनले सूचनाको विषयमा टिका टिप्पणी भएपछि बैठक बसेर अर्काे निर्णय गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

यो क्षेत्रमा हरेक महिना जस्तो जात्रा पर्व हुने गर्दछ । जात्रा पर्व सञ्चालनका लागि नगरपालिकाले वार्षिक २५ लाख रुपैंया बजेट विनियोजन गर्दै आएको छ ।

थुक लगाएर तास फिट्दा कोरोना

सामाजिक सञ्जालमा भाइरस बनिरहेको अर्काे सूचना त झन् रमाइलो र अनौठो खालको छ । यो सूचना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ को हो । वडाध्यक्ष मुकेश शेर्पाले जारी गरेको यो सूचनामा ‘कोरोना सर्ने भएकाले तास खेल्न नहुने, नत्र खेल्न हुने’ आशय व्यक्त गरिएको छ ।

जुवातास खेल्दा वा तास फिट्दा जिब्रोमा हातले थुक लगाएर फिट्ने प्रचलन भएको हुँदा, थुक लगाउँदा हात जिब्रोमा छुँदा कोरोना भाइरसको संक्रमण उच्च जोखिम हुने सूचनामा उल्लेख छ । ‘जुवातास खेल्दा वा तास फिट्दा जिब्रोमा हातले थुक लगाएर फिट्ने प्रचलन भएको हुँदा नेपाल सरकार गृह मन्त्रालयको आदेश अनुसार रुपैंया आदानप्रदान गर्दा थुक लगाउँदा हात जिब्रोमा छुँदा कोरोना संक्रमणको उच्च जोखिम हुन सक्ने सम्भावना भएकाले सबै टोलहरुमा जुवातास नखेल्न नखेलाउन हुन सबैमा यो सुचना प्रकाशन गरिएको छ ।’ सूचनामा भनिएको छ ।

सूचना यतिमै सिमित छैन । जुवातास खेलेमा वा कोरोना संक्रमण भएको थाहा पाएमा गृह मन्त्रालयको कानुन वमोजिम सजाय हुने समेत उल्लेख छ ।

सूचनाको आशय नै यस्तै हो वा लेखन शैली नमिलेको हो । यस विषयमा बुझ्न हामीले वडाध्यक्ष शेर्पालाई सम्पर्क गर्‍यौं । उनले पनि सूचना सही नै भएको र स्थानीयलाई बुझाउनका लागि त्यस्तो सूचना जारी गरिएको बताए ।

जुवातास नखेल्नु भन्नुपर्ने निकायले ‘कोरोना नसर्ने भए खेल्दा हुन्छ’ भन्ने आशयको सूचना प्रकाशन गर्नु कतिको उचित हो त ? “होइन, जुवातास खेले त कारवाही हुन्छ नै तर थप जोखिम नहोस् भनेर हामीले सूचना निकालेका हौं ।” उनले भने । शहरबाट गाउँ आएकाहरू जुवातास खेलेर समय व्यतित गर्न थालेपछि त्यसलाई रोक्न सूचना जारी गर्नु परेको उनले बताए ।

वडाध्यक्ष शेर्पाले सूचनाको विषयमा टिका टिप्पणी भएपछि अर्काे सूचना जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।

Logo