आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण–गभर्नर अधिकारी

आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतीपूर्ण–गभर्नर अधिकारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण हुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । कोरोनाको विश्वव्यापी प्रभावसँगै विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शुन्य हुने, वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौति रहेको उनको भनाइ छ ।

विप्रेशणमा अ‌ागामी वर्ष संकुचन आउन सक्ने उनले बताए । ‘अर्को वर्षमा हामीलाई विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ । पर्यटन आय अलमोस्ट हामीले आश गर्न सक्दैनौं, त्यसैगरी वैदेशिक लगानी थप लगानी हामी आश गर्न सक्दैनौं सँगसँगै नेपालबाट बाहिर एक्स्पोर्ट भन्ने कुरा पनि आउने वर्ष एकदमै नोमिनल हुन्छ’–गर्भनर अधिकारीले भने–‘जसले गर्दा हामीलाई वैदेशिक मुद्राको संचिति मुद्राको परिचालनमा भने केही ठूलो प्रेसरमा काम गर्नुपर्ने हाम्रो अनुमान छ ।’

त्यस्तै गर्भनर अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु पूरा नहुने स्थिति आइसकेको बताए । कोभिड शुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको उनको भनाइ छ । यस्तै अन्तरिक आपूर्ति प्रणालीलाई सुदृढ बनाउन नसकेमा मूल्यमा समेत दवाव पर्ने उनले बताए । साथै, उनले वित्तीय क्षेत्रको स्थायीत्वका लागि अर्थतन्त्रमा आउने संकुचनलाई ध्यान दिएर वित्तीय स्रोतहरुलाई परिचालन गर्ने र उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवद्र्धन हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने सम्बन्धमा तयारी थालिएको जानकारी दिएका छन् ।

पाँच करोड भन्दा बढी कर्जा लिने ग्राहकहरुको अवस्था अध्ययन गरी विवरण तयार गर्न बैंकहरुलाई निर्देशन दिइएको समेत गभर्नर अधिकारीले बताए । उनले कोभिडका कारण वित्तीय क्षेत्रमा ठूलो असर नपरोस भन्नका लागि क्लोजली मोनिटरिङ गर्ने व्यवस्था गरिएको समेत जानकारी दिए । समग्र अर्थतन्त्रमा परेको असर, बैंक तथा वित्तीय क्षेत्रमा परेको असर लगायतका विषयमा छुट्टाछुट्टै अध्ययन गरी राष्ट्र बैंकले दिने सुविधा तयार गर्न खोजिएको गभर्नर अधिकारीको भनाइ छ ।

Logo