कोरोना जोखिमबाट काठमाडौंबासीलाई मुक्त राख्न सामूहिक प्रयास आवश्यकः मेयर शाक्य

कोरोना जोखिमबाट काठमाडौंबासीलाई मुक्त राख्न सामूहिक प्रयास आवश्यकः मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेको भन्दै आवत–जावतमा कडाई गर्नुपर्ने बताएका छन् । ‘नेपालगञ्ज, वीरगञ्ज लगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्,’ प्रमुख शाक्यले भने, ‘यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ ।’

प्रमुख शाक्यले यस्तो बेलामा अझ उपत्यकाबाट हुने आवत–जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरे । ‘काठमाडौंबाट मजदुर–विद्यार्थी लगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले थप समस्या सिर्जना गर्न सक्छ,’ उनले भने, ‘यो विपद्को बेला हो । यस्तो बेलामा सबै राजनीतिक दलले दलभन्दा माथि उठेर सामूहिक धारणासहित समाधानको बाटो खोज्नुपर्छ । विभिन्न संघ–संस्था र नागरिकले पनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुको अर्को विकल्प छैन ।’

उनले जिल्लाबाट काठमाडौं फर्कनेको संख्या बढ्दै जाने हो भने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने र त्यसले झन जटिलता सिर्जना गर्नेतर्फ पनि सचेत रहन सबैलाई आग्रह गरेका छन् । ‘राजधानीमा रहेका क्वारेन्टाइनलाई व्यवस्थित गर्ने, बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको आशंका भएका व्यक्तिहरुलाई परिक्षणको दायरामा ल्याउने लगायतका कार्यमा पनि सामूहिक प्रयास आवश्यक छ,’ शाक्यले भने, ‘स्थानीय तहले गर्ने स्थानीय र प्रदेश वा केन्द्र सरकारले गर्ने काम केन्द्रले गरौं । तर, यसमा एक–अर्काबीच आवश्यक समन्वय होस् ।’

प्रमुख शाक्यले संघीय राजधानीसमेत भएका कारण काठमाडौंका सन्दर्भमा सरकार र राजनीतिक दलको समेत सामूहिक प्रयास आवश्यक भएको उल्लेख गरे । ‘यो संघीय राजधानी हो । यहाँ ७७ बटै जिल्लाका नागरिक बसोबास गर्दै आएका छन् । ‘आवत–जावतलाई कडाई नगर्ने हो भने यहाँ कोरोना संक्रमण सजिलै फैलिन सक्ने खतरा हुन्छ र त्यसो भयो भने नियन्त्रणका लागि मुस्किल हुन सक्छ । त्यसैले यसको समाधानका लागि नाकामा कडाई गर्ने, उपत्यकाबासीको जीवनयापनलाई सहज बनाउने लगायतका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक छ ।’उनले भने

जिम्मेवार नेताहरुले नै लकडाउनका बेला काठमाडौंबाट मजदूर–विद्यार्थी लगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै त्यसले झन चिन्ता थपेको बताए । उनले मुख्य गरेर अतिविपन्न, असाहय र मजदूर वर्ग बढी समस्यामा परेको भन्दै उनीहरुको समस्या समाधानका बारेमा पनि गम्भीर भएर लाग्न आग्रह गरे ।

‘काठमाडौंमा अतिविपन्न, असाहय र मजदूर वर्ग सबैभन्दा बढी समस्यामा परेका छन्,’ उनले भने, ‘ती समूदायलाई खाद्यान्नको मात्रै व्यवस्था गरेर नहुने अवस्था छ । एउटै कोठामा धेरै जना मिलेर बस्नु पर्ने लगायतका समस्याले उनीहरु न्युनतम क्वारेन्टाइनको सुविधाबाट समेत बञ्चित छन् । हामीले आवत–जावतलाई कडाई गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता कुरालाई बेवास्ता गर्ने र राजधानीमा संक्रमण फैलिने अवस्था आयो भने ती समूदाय थप समस्यामा पर्न सक्छन् । यो विषयमा पनि हामी सबैले गम्भीर भएर सोच्न जरुरी छ ।’

महानगरबाट मात्रै लकडाउन अवधिभर ८० हजार बढीलाई राहत वितरण गरेको र एक लाख बढीलाई खाना खुवाउने काम गरेको भन्दै प्रमुख शाक्यले यसमा पनि व्यवहारिक कठिनाई हुने गरेको बताए । ‘हामीले वडा–वडामा विभिन्न परोपकारी संस्थाहरुसँग समेत सहकार्य गरेर सामूहिक निःशुल्क मेस चलाएका छौँ । ती मेसमा सामाजिक दूरी कायम गर्ने, खानाको गुणस्तरमा ध्यान दिने, अतिविपन्न, असाहय र मजदूरलाई प्राथमिकता दिने भनेका छौं । शाक्यले भने ‘निःशुल्क भनेपछि लक्षित बर्ग बाहेक अरु पनि आउने भिडभाड हुने जस्ता समस्या आएका छन् । यसलाई न्युनिकरण गर्न पनि सामूहिक प्रयास आवश्यक छ ।’

Logo