काठमाडौं ।
सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफूहरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन् । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपरहण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन् । आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौज गरी मानहानी गरेको, अपमान गरेको र झुठो आरोप गलाएर फसाउन खोजिएको बताए । डा. यादव लगायतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रकृयामा सहभागि हुने चाहना पनि व्यक्त गरेको उनले बताए । प्रकृयामा सहभागि हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको उनले बताए ।
अपहरणको आरोप लागेका अर्का सांसद कृष्ण श्रेष्ठ (किसान)ले आफूहरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफूहरुलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए । ‘हामीले कल्पनासमेत गरेका थिएनौँ, पूर्वप्रधानमन्त्री, झन पिएचडी गरेको मान्छे । सबैले उहाँलाई सम्मान गर्छन् । मैले सम्मान गर्छु । तर उहाँले यस्तो गम्भिर आरोप लगाउनु भयो’, डा. भट्टराईप्रति लक्षित गर्दै उनले भने ।
पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफूहरु विरुद्ध झुठो आरोपले आफूलाई र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताए । निवेदन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायराभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए । दुबै उजुरीहरु एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उल्लंघन भए/नभएको एकिन गरिने बताए । अनुसन्धान निष्पक्ष ढंगले हुने भन्दै उनले कानून र संविधान बमोजिम आफ्नो दायित्व पूरा गर्ने बताए ।
यसअघि आफुलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए । यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए ।





























प्रतिक्रिया