लकडाउनका लागि सरकारले ल्याउन लागेको सम्भावित मोडालिटी

लकडाउनका लागि सरकारले ल्याउन लागेको सम्भावित मोडालिटी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
गत चैत ११ गतेदेखि देश लकडाउनमा छ । एक हप्ताका लागि भनेर थालिएको लकडाउन पहिलोपटक चैत १८ सम्मका लागि तोकियो । दोस्रोपटक अर्को १ हप्ता थप्दै चैत २५ सम्म कायम गरियो । पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुको संख्या थपिंदै गएपछि लकडाउन पनि लम्बिदै गएको हो । तेस्रोपटक बैशाख ३ गतेसम्मका लागि निरन्तरता दिइएकोमा पुनः चौथो पटक थपेर १५ गतेसम्म निरन्तरता दिइएको थियो । हाल बैशाख २५ गतेसम्म लकडाउन कायम छ ।

यस अवधिमा लकडाउन चाहिं थपियो तर सरकारले अन्य आवश्यकताहरु पूरा गर्ने तर्फ खासै ध्यान दिइएको पाइएन । सरकारले विपन्न वर्गका लागि भन्दै राहत दिइने बताएपनि त्यो नपाएपछि दैनिक ज्यालादारी मजदूरहरु हिंडेरै गाउँ फर्कन थाले । अहिले पनि अवस्था उस्तै छ ।

पछिल्लोपटक सरकारले लकडाउन तोकेको समय बैशाख २५ गते सकिंदैछ । अब पनि लकडाउन थपिने वा नथपिने बहश शुरु भएका छन् । कसैले लकडाउनलाई निरन्तरता दिइनु पर्ने बताइरहेका छन् भने केहि ले यसको स्वरुप परिवर्तन गर्नु पर्ने बताउँदै आएका छन् । आगामी जेठ १० गतेसम्म लकडाउनलाई निरन्तरता दिइने समाचारहरु आइरहेकै बेला सरकारले भने ७७ जिल्लालाई ३ तहमा विभाजन गरेर लकडाउन जारी राख्ने तयारी गरेको बुझिएको छ ।

जस अनुसार अब स्वास्थ्य सम्बन्धी तथ्यांकका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेंलो क्षेत्र (एल्लो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने छ । यसैगरि संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एल्लो जोनमा राखिनेछ । सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिनेछ । तर संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ ।

केन्द्रबिन्दुलाई प्राप्त स्रोतका अनुसार ३ वटै जोनमा पर्ने जिल्लाहरुमा बेलुकी ७ बजेदेखि विहान ७ बजेसम्म आवत जावत गर्न पाइने छैन । यस्तै १० वर्ष भन्दा तल र ६५ वर्ष भन्दा माथिका सबै व्यक्तिको आवत जावत रोकिनेछ । अन्तर प्रदेश सडक संचालन हुने छैन भने मन्दिर चर्च लगायतका धार्मिक स्थलहरुमा जमघट गर्न पनि पाइने छैन । शैक्षिक संस्थाहरु पनि खोल्न पाइने छैन भने होटल क्षेत्र, हवाई क्षेत्र लगायतहरु बन्द रहनेछन् ।

यस्तै सबै जोन (हरियो, पहेंलो र रातो) मा पर्ने जिल्लाहरुमा सबैखालका औषधि पसल, अस्पताल र राहत सहायता कक्षहरु खुल्ला गरिनेछ । बैंक तथा वित्तिय क्षेत्रहरु, कृषि क्षेत्र, कुरियर क्षेत्र, सामान ढुवानी, शहरी उद्योग व्यावसाय संचालन गर्न पाइनेछन् ।

यस्तै निर्माण सामग्री, अटो मोर्टस, कम्प्युटर तथा मोबाइल मर्मत लगायतका क्षेत्र रेड जोन बाहेक अरुमा संचालन गर्न पाइनेछ । मदिराजन्य पसलहरु, सैलुनहरु पनि रेड जोन भन्दा बाहेकमा संचालन गर्न पाइनेछ । प्रदेशभित्र बससेवा हरियो जोनमा ५० प्रतिशत, पहेंलो जोनमा पुरै पाइनेछन् भने रेड जोनमा पुरै नपाइने भएको छ । जिल्लाभित्र बससेवा संचालनका लागि पनि हरियो जोनमा ५० प्रतिशत पाइनेछ भने पहेंलो जोनमा पुरै पाइने र रेड जोनमा पुरै नपाइने भएको छ ।

उल्लेखित कुराहरुको निर्णय भने भइसकेको छैन । जानकारी अनुसार हाल देखिएको स्वास्थ्य रिपोर्टको पछिल्लो अवस्था हेरेर कुन जिल्ला हरियो, कुन पहेंलो र कुन रेड जोनमा पर्ने तय गरिनेछ । यतिबेला देखिए अनुसार भन्ने हो भने २९ जिल्लालाई रातो, २८ जिल्लालाई पहेंलो र २० जिल्लालाई हरियो क्षेत्रमा छुट्याउन सकिने छ ।

यसमा प्रदेश १ का आठ र प्रदेश २ का सबै जिल्लाहरु रातो अर्थात् उच्च जोखिममा पर्नेछन् । रातो क्षेत्रमा परेका २९ जिल्लामध्ये हाल संक्रमण पुष्टि भएका बागलुङ, बाँके, भोजपुर, चितवन, धनुषा, झापा, कैलाली, काठमाडौं, कञ्चनपुर, पर्सा, रौतहट, रूपन्देही, उदयपुर र बारा जिल्ला रहने बताइएको छ । अन्य जिल्लाहरुको हकमा भने २५ गतेसम्मको अवस्थापछि मात्र तय गर्न सकिने बताइएको छ । यही मोडालिटीलाई टेकेर थप छलफल गरी अन्तिम निष्कर्ष निकाल्ने तयारीमा सरकार लागेको बताइएको छ ।

Logo