महोत्तरी ।
महोत्तरीका २ बस्तीमा ४ दिनमै ८ जनाको मृत्यु भएको छ । भंगाहा ७ स्थित मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका १२ का स्थानीयको मृत्यु भएको हो । उनीहरुमा अचानक पेट दुख्ने, झाडापखाला लाग्ने र बान्ता हुने लक्षण देखा परेको स्थानीयले बताएका छन् । कतिपय राति सुतेको अवस्थामा बिहान मृत भेटिएका थिए ।
बर्दिवास १२ मा शुक्रबार बिहान ५५ वर्षीया मोमनीदेवी सर्दार र २६ वर्षीय सोपिन्द्र मण्डलको समेत मृत्यु भएको हो । सोही ठाउँका ५२ वर्षीय गंगाराम सदाको बुधबार मृत्यु भएको थियो भने सो बस्तीसँगै जोडिएको भंगाहा ७ मेघनाथ गोरहन्नामा मंलबारयता ५ जनाको मृत्यु भइसकेको छ ।
मंगलबार ४८ वर्षीया नथुनी महरा र ४० वर्षीय मोहन चौधरीको मृत्यु भएको थियो । बुधबार ५४ वर्षीय लालबाबु सिंह तथा बिहीबार ६० वर्षीय सुकदेव महरा र ४० वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएको थियो । अघिल्लो बिहीबार भंगाहा ७ कै महेन्द्र चौधरीको पनि मृत्यु भएको थियो । चौधरीसहित सो बस्तीमा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन् । उनीहरुले मृतकमा कोरोना भए, नभएको तत्काल पुष्टि गरिदिन सम्बन्धित पक्षसँग माग गरेका छन् । स्थानीय केही व्यक्ति र जनप्रतिनिधिले भने उनीहरुको मृत्यु अत्यधिक विषाक्त मदिरा सेवनबाट भएको हुन सक्ने बताएका छन् ।कान्तिपुरबाट





























प्रतिक्रिया