काठमाडौं ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ शहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताएका छन् ।
मन्त्रालयमा आज सांसदसँगको छलफलमा राज्यमन्त्री मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन नौबिसे सुरुङमार्ग आदि आयोजनाका साथै वैकल्पिक चक्रपथसहितको नयाँ शहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तर्गत नुवाकोटका छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबिसे, गल्छीदेखि नुवाकोटको चाउथे, बन्चरेडाँडा र काठमाडौँको तिनपिप्लेलाई नयाँ शहर निर्माण गर्न लागिएको हो ।
राज्यमन्त्री मानन्धरले नयाँ बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने र कम्तीमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने योजना रहेको जानकारी पनि दिए।
मन्त्रालयका सचिव मधुसूदन अधिकारीले केही नयाँ कार्यक्रमसहित बजेटको तयारी थालिएको जानकारी दिए। सचिव अधिकारीले मन्त्रालयले चालु अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै वैकल्पिक चक्रपथसहितको नयाँ शहर आयोजना र कम्तीमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउने गरी बजेट आउने जानकारी दिए।
दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले यस अघि सांसदहरुलाई छलफलमा नबोलाउँदा बजेट व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै छलफल आयोजना गरिएकामा खुशी व्यक्त गरे। काठमाडौँका सांसद जीवनराम श्रेष्ठले काठमाडौंका केही स्थान दुर्गमसरह रहेकाले प्राथमिकताका साथ कार्यक्रम ल्याउन आग्रह गरे ।
छलफलमा बैतडीका सांसद दामोदर भण्डारी, सिन्धुलीका सांसद गणेश पहाडी, नुवाकोटका सांसद नारायण खतिवडा, बाजुराका सांसद लालबहादुर थापा, डोटीका सांसद प्रेम आले, कैलालीका नारदमुनि राना, नुवाकोटका सांसद बहादुरसिंह लामा लगायतको उपस्थिति थियो ।रासस





























प्रतिक्रिया