नेकपा विवाद बैठकबाट सामाजिक संजालतिर

नेकपा विवाद बैठकबाट सामाजिक संजालतिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ — अध्यादेश प्रकरणपछि सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेको छ । र, नेताहरुको असन्तुष्टि बैठक कक्षबाट अब सामाजिक सञ्जालसम्म पुगेको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलबीच छुटछुट्टै र सामूहिक भेट भएको थियो।

त्यहाँ प्रधानमन्त्री ओलीसँगको भेटमा उपाध्यक्ष गौतमले ओलीलाई ‘अब तपाई सक्नु हुन्न, आराम गर्नुहोस्’भनेर छलफलबाट बाहिरिएको समाचार आएका थिए। त्यसलगत्तै ओली निकटका नेताहरुले सामाजिक सञ्जालमा आफ्ना प्रतिक्रियाहरु राख्न थालेका हुन्।

र, शनिबार बालुवाटारमा शीर्ष नेताबीचको छलफलले विवाद समाधानतर्फ भन्दा पनि बढाउनेतर्फ केन्द्रित भएको पुष्टि ओली निकट नेताहरुले सामाजिक सञ्जालमा लेखेको कुराले गर्छ ।

प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले स्थिरताविरुद्ध पार्टीभित्रैबाट चलखेल भएको समाजिक सञ्जालमा लेखेका छन् । उनले लेखेका छन्, ‘हङ पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नांगो भागबन्डाले त हङ पार्टी पो भएछ १ जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम । पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध जारी चलखेल, नेकपाको नाममा ।’

यस्तै, नेकपा केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीबिनाको चित्र कस्तो होला भनेर अन्य समूहका नेताहरूलाई प्रश्न गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् । ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ । तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।’

बाँस्कोटा ओलीका विश्वास पात्र मानिन्छन्। ७० करोड घुस अडियो प्रकरण विवादमा तानिएपछि बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा गरेका थिए। त्यसपछि केही समय गुमनाम रहेका बाँस्कोटा पहिल्ला दिनमा सामाजिक सञ्जालमा निकै सक्रिय भएका छन्।

ओली निकट नेकपाका अर्का केन्द्रीय सदस्य कर्ण थापाले पनि प्रधानमन्त्री विरुद्धमा हदैसम्मको षडयन्त्र भएको बताएका छन् । आईतबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुदेश, जनता र पार्टीको पक्षमा आफ्नो सम्पूर्ण शक्ति र अनुभव खर्चेर काम गरिरहेका सम्माननीय प्रधानमन्त्रीको विरुद्धमा हदैसम्मको षडयन्त्र पार्टीभित्रैबाटै भइरहेको कुरा अब लुकाएर लुक्ने विषय रहेन । टुट,फुट र विभाजनबाट आक्रान्त र आजित भएका कम्युनिष्ट पार्टीलाई माया गर्ने सर्वसाधारण जनता जनताको जनमतबाटै दुईतिहाईको कम्युनिष्ट सरकार बन्न सकेको स्थितिबाट सन्तोषको सास फेरि रहेका बेलामा फेरि जनतालाई रुवाउने काम कसैबाट हुन्छ भन्ने त्यो अक्षम्य अपराध सावित हुनेछ। आमपार्टी पंङ्ति, समर्थक र शुभेच्छुकहरुले देश, जनता र पार्टीविरुद्ध भईरहेका षडयन्त्रविरुद्ध सकृयताका साथ पहल लिनु जरुरी छ।’

अध्यादेश जारी भएकै दिन गत सोमबार नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकमा सचिवालयका बहुमत सदस्यले अध्यादेशको विरोध गरेका थिए । त्यसलगत्तै दाहाल र नेपाल निकटका २० स्थायी कमिटी सदस्यले पत्र लेखेर अध्यादेश फिर्ता लिनुपर्ने र स्थायी कमिटी बैठक बोलाउनु पर्ने माग गरेका थिए ।

गत सोमबार प्रधानमन्त्री ओलीले दुई अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर चर्को विरोध भयो । विरोध थेग्न नसकेपछि प्रधानमन्त्री ओलीले गत बिहिबार पार्टी अध्यक्ष दाहाल र नेता नेपाललाई बालुवाटार बोलाएर अध्यादेश फिर्ता लिने बताएका थिए ।

ओलीले अध्यादेश फिर्ता लिन वचन दाहाल र नेपाललाई दिएपनि त्यसमा शंका गर्दै सचिवालयका ९ मध्ये ६ सदस्यहरुको गौतम निवास भैंसेपाटीमा अनौपचारिक बैठक बसेको थियो । प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको निष्कर्ष बैठकले निकालेको थियो ।

पार्टीभित्र र बाहिरबाट विरोध कारण प्रधानमन्त्री ओलीले शुक्रबार अध्यादेश फिर्ता लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्ने निर्णय पनि गरिसकेकी छन् ।

अध्यादेश फिर्ता भए पनि पार्टी बैठकलाई लिएर नेकपामा विवाद बढ्दो छ। प्रधानमन्त्री ओली पार्टीकै नेताहरुको चाहनाअनुसार अध्यादेश फिर्ता भइसकेको हुँदा त्यसकै छलफलका लागि तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन् ।

अर्कोतर्फ स्थायी कमिटीका बहुमत सदस्य ओलीले बैठक बोलउनै पर्ने र नबोलाए कार्यकारी अध्यक्ष दाहालले बैठक बोलाउनुपर्ने अडानमा छन् । र, सोही बैठकमा ओलीविरुद्धका बहुमतभन्दा बढी सदस्यले राजीनामा नै माग्ने तयारी गरेको एक सदस्यले बताए । बैठक बसे आफूविरुद्धको मोर्चाबन्दी झन् कसिलो हुने ओली पक्षको बुझाइ छ । प्रधानमन्त्री ओली आफैंले पनि अध्यादेश प्रकरणमा आफू दबाबमा परेको महशुस गरेका छन् । कान्तिपुरबाट साभार

Logo