काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ३४ औं दिन भएको छ ।
कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन । तर सबै क्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ । तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् ।
आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा अत्यावश्यक ढुवानीका साधनहरु एवं अत्यावश्यक सेवाका सवारी साधनहरु चलेका थिए । सडकमा नागरिकको आवागमन देखिदैन भने सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्न बाहेक मानिसहरु बाहिर निस्केका छैनन् । सहरका मुख्य सडकहरु सुनसान छन् । चोकचोकमा बसेका सुरक्षाकर्मीले चेकजाँचलाई कडाई पारेका छन् । सरकारले वैशाख १५ गते अर्थात् भोलि सम्मका लागि लकडाउनको अवधि तोकेको छ । तर शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय अझै बढाउनु पर्ने सुझाव सरकारलाई दिएको छ । जसले गर्दा अझै केही दिन लकडाउनको समय बढ्ने सम्भावना छ । यससम्बन्धी निर्णय आज बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ ।

नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ५१ पुगेको छ । यस्तै १२ जना निको भइसकेका छन् । अहिले सम्म ९ हजार ६ सय १७ जनाको पीसीआर प्रविधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । यस्तै १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया