काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा उक्त कामना गरेकी हुन् । वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनःनिर्माणमा हामीले उदाहरणीय काम गर्न सकेको सन्देशमा भनिएको छ ।
“भूकम्पको निरन्तर धक्काको कारण त्रास र भयमा रहेका र घरबारविहीन भएका लाखौँ जनतालाई सहयोग दिन हामी एकजुट भएका थियौं, संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ”, सन्देशमा भनिएको छ, “प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”
सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा प्रभावितको पुनःस्थापनाका कार्यलाई अघि बढाएको छ । यसबीचमा करिब पाँच लाख निजी आवास पुनःनिर्माण सम्पन्न हुनाका साथै करिब दुई लाख निजी आवास पुनःनिर्माणको प्रक्रियामा छन् ।
“भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनःनिर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएका छन्”, सन्देशमा भनिएको छ, “यसै सन्दर्भमा पुनःनिर्माण पुनःस्थापनाका कार्यमा लाग्नुहुने र सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”
देशको भौगोलिक अवस्थाले गर्दा भूकम्प, बाढी, डुबान, पहिलाजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छौँ । यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्यावरणमैत्री एवं सुरक्षित भौतिक पूर्वाधार तथा प्रकोप प्रतिरोध बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पुर्याउनु पर्ने आवश्यक रहेको छ । सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्दै भवनसंहिता अनुसार नयाँ संरचना बनाउने कार्यलाई अभियानका रुपमा अघि बढाउन आवश्यक सम्बन्धित निकायको ध्यान आकृष्ट गराइएको छ ।
“सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ”, सन्देशमा भनिएको छ, “भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःनिर्माणका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्यमा विपदबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्याउने छ भन्ने विश्वास लिएको छु ।”रासस





























प्रतिक्रिया