काठमाडौं ।
नेपाल सरकारलाई भारतले कोभिड–१९ सङ्क्रमणको रोकथाम र उपचारका लागि सहयोगस्वरुप १८ प्रकारका औषधि उपलब्ध गराएको छ । भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोरोक्विन लगायत छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज ती औषधि हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोभिड–१९ विरुद्ध विश्व नै लडिरहेका बेला छिमेकीबाट नेपाली जनता र सरकारको प्रयासमा ऐक्यबद्धता जनाउन गरिएको सहयोगप्रति आभार व्यक्त गरे ।
उनले भने, “सङ्क्रमण र जोखिमका हिसाबले नेपालभन्दा भारत अप्ठेरो लडाइँमा रहेको छ । आफूलाई परेको अप्ठेरोका बाबजुत भारतका तर्फबाट नेपालप्रति जे सद्भाव र सदिच्छा राखिएको छ, त्यसप्रति धन्यवाद दिन चाहन्छु ।” चीनबाट शुरु भएको कोभिड १९ को प्रकोप फैलँदै भारत आइपुगेपछि नेपाल पनि उच्च जोखिममा छ भनेर गरिएको तयारी र सावधानीलाई नेपाल सरकारले एक स्तरमाथि पुर्याएको मन्त्री ढकालले जानकारी दिए ।
कोरोना रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कोषमा नेपालबाट गरिएको योगदानको प्रशंसा गर्दै उनले कोभिड–१९ विरुद्धको लडाइँमा रहेको नेपाललाई पहिलो चरणमा यी औषधि उपलब्ध गराइएको बताए ।
तिब्बतबाट भित्रियो स्वास्थ्य सामग्री
यसैबीच तिब्बत सरकारले गते चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी नाका हुँदै आठ करोड ३१ लाख बराबरको उक्त सामग्री आज नेपाल प्रवेश गरेको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री आजै काठमाडौँ आइपुग्नेछ ।
अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन् । तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।रासस





























प्रतिक्रिया