भूकम्पको ५ वर्षमा ८८ प्रतिशत पुनर्निर्माण सम्पन्न

भूकम्पको ५ वर्षमा ८८ प्रतिशत पुनर्निर्माण सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुनर्निर्माणको कार्यमा असर परेको बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बुधबार कुरा गर्दै कोरोना भाइरसको महामारीको असर पुननिर्माण कार्यमा गम्भिर रुपमा परेको बताएका हुन् । ०७२ साल वैशाख १२ गतेको भूकम्प पछिको ५ वर्ष पूरा हुन दुई दिन बाँकी छँदा प्राधिकरणका सिइओ ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भिर असर परेको र यसले पुनर्निर्माणको बजेटमा समेत असर पार्ने बताए ।

उनले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनमा समेत असर पार्ने बताए । तर निजी आवासको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने उनले बताए । यस्तै विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुनर्निर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उनले बताए । यस्तै सरकारका विभिन्न निकायले पुनर्निर्माणको कामलाई निरन्तरता दिन सक्ने क्षमता राख्ने भएकाले पुनर्निर्माण प्राधिकरणको अवधि सम्पन्न हुँदा समेत कुनै फरक नपर्ने उनले बताए । सिइओ ज्ञवालीले स्रोत साधनको कमिका कारण वा समय अभावका कारणले पुनर्निर्माणको काम प्रभावित नहुने समेत बताए ।

सिइओ ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताए । उनले प्राधिकरणले अहिलेसम्म निजी आवास पुनर्निर्माणको काममा ८८ प्रतिशत प्रगति भएको बताए । अहिलेसम्म ६३ प्रतिशत अर्थात ४ लाख ९४ हजार निजी आवास पुनर्निर्माण सम्पन्न भइसकेको र २५ प्रतिशत अर्थात १ लाख ९० हजार १ सय ४५ निजी आवास पुनर्निर्माणको चरणमा रहेको उनले बताए । यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राहीको संख्या ७२ प्रतिशत अर्थात ५ लाख ६१ हजार ६ सय ५० रहेको समेत उनले बताए । निजी आवास पुनर्निर्माणका लागि ७ लाख ८१ हजार १ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा रहेका छन् । ३२ जिल्लाका ९ सय २० वटा सम्पदा मध्ये ४ सय २ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको पनि सिइओ ज्ञवालीले बताए । यसबाहेक १ सय ४१ सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौं उपत्यकाभित्र विश्व सम्पदा क्षेत्रभित्र रहेका १ सय ७० वटा सम्पदा मध्ये १ सय १ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ५४ वटा पुनर्निर्माणको क्रममा छन् । यसबाहेक १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । १ सय ४५ वटा पुनर्निर्माणको क्रममा छन् । स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति भएको छ । यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुन निर्माणको क्रममा छन् । सुरक्षा निकायका १ सय ९४ संरचनाको पुनर्निर्माण सम्पन्न भएको र २२ वटा पुनर्निर्माणको क्रममा चरणमा रहेको उनले बताए ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा आवास पुनर्निर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ । यस्तै ४३ वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने ९ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणको तयारीमा छन भने ७९ वटा पुनर्निर्माण हुँदैछन् ।

विभिन्न जिल्लामा ७ सय ६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडक पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै ३ सय १९ किलोमिटर सडकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी विभाग मार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन् भने १ सय वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् । प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुनर्निर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।

Logo