काठमाडौं ।
जमातीहरु रहेको हुन सक्ने आशंकामा आज काठमाडौंका चार वटा मस्जिदहरुमा अनुगमन भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानव अधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरेको हो ।

केहि दिन अघि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १३ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुबै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बस्न सक्ने र उनीहरु कोरोना संक्रमित हुन सक्ने भन्दै विभिन्न सञ्चार माध्ययममा समाचार आइरहेका बेला मुस्लिम समूदायको सबै भन्दा बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो ।

महानगर प्रमुख शाक्यले आज राजधानीका चार स्थानको अनुगमन गरेको र ती स्थानहरुको अवस्था सामान्य रहेको जानकारी दिए । ‘वीरगञ्ज र उदयपुरका मस्जिदमा बसेका केहीमा कोरोना संक्रमण पुष्टि भएसँगै राजधानीका पनि विभिन्न मस्जिदमा जमातीहरु विना सूचना बसेका हुन सक्ने आशंकापछि आज रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरिएको छ,’ प्रमुख शाक्यले भने, ‘कतिपय सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अहिले पनि ती मस्जिदहरुमा नवाज पढ्ने काम निरन्तर भैरहेको भन्ने आशंकालाई मध्यनजर गर्दै हामीले अनुगमन गरेका हौँ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरले विभिन्न समयमा मनाइने पाहाँचःहे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरूलाई मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्दै भीडभाडमा ती जात्रापर्व नमनाउन यस अघि नै अपिल गरेको जानकारी दिदैँ मस्जिदहरुमा पनि यो विषम परिस्थितिमा नवाज पढ्ने लगायतलाई स्थगन गर्न पहिल्यै आग्रह गरेको जानकारी दिएका छन् । ‘हामीले पहिल्यै सम्वन्धित निकायसँग आग्रह गरेका थियौँ,’ उनले भने, ‘आज हामीले अनुगमन गर्दा पनि त्यस्तो भिडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन । दुई वटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाई गर्ने, खाना बनाउने लगायतका काम गर्ने आठ–आठ जना मात्रै रहेको पाइयो । सुन्धारा र स्वयम्भूमा त अझ त्यो भन्दा कम संख्यामा रहेको पाइयो ।’

उनले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने वित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खबर गर्न आग्रह गरेको पनि जानकारी दिएका छन् । ‘मुस्लिम आयोगका अध्यक्ष लगायतले पनि नियमित बस्ने बाहेक कसैलाई प्रवेश नदिएको र नियमित शुक्रबार नवाज पढ्ने कुरालाई पनि सूचना टाँसेर नै स्थगन गरेको जानकारी दिएका छन् ।
हामीले नेपालको सबै भन्दा ठूलो र पुरानो जामे मस्जिदसँगै अन्य तीन मस्जिदको अनुगमन गरेका छौँ,’ अध्यक्ष अन्सारीले भने, ‘विभिन्न सञ्चार माध्ययममा समाचार आएपछि मुस्लिम आयोगले मेरो अध्यक्षतामा पूर्वमन्त्री, मानव अधिकार आयोगका सदस्य, धर्मगुरुलगायत रहेको सात सदस्यीय केन्द्रीय अनुगमन समिति बनाएको छ । त्यो समितिले निरन्तर अनुगमन गरिरहेको छ ।’ अनुगमनका क्रममा लकडाउन अवधिभर कसैलाई पनि प्रवेश नदिन, पाहुनालाई पनि बास नदिनु, नवाज पढ्न आउनेलाई पनि गेट नखोल्नु भनी पुनः निर्देशन दिएको छ।

अहिलेको अवस्थामा उपत्यकाका कुनै पनि मस्जिदमा जानकारी नदिइ कोही पनि बसेको छैन,’आयोगका अध्यक्षले भने, ‘भारत र पाकिस्तानबाट आएर उपत्यकामा रहेका जमाती पनि अहिले लकडाउनको पूर्ण पालना गर्दै जिल्ला प्रशासन र वडा कार्यालयको निगरानीमा क्वारेन्टाइनमा बसेका छन् । कुनै पनि जमाती विना जानकारी बसेका छैनन् । सबैले लकडाउनको पालना गर्नुपर्छ । अहिलेको महामारीमा देशलाई जोगाउनु सबै भन्दा ठूलो कुरा हो ।’





























प्रतिक्रिया