अझै रोकिएन काठमाडौंमा सवारी पास लिनेको भिड

अझै रोकिएन काठमाडौंमा सवारी पास लिनेको भिड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन ।

सरकारले भिडभाड बढेसँगै अत्यावश्यक कामका लागि अनलाइनबाटै इ–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेहरुको संख्या बढेको हो ।

जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिडभाड हुन गई कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । पास लिन आउनेहरु पनि मृत्यु संस्कारका लागि पास लिन आएका भने होइनन् । कोही काठमाडौंमा खानेकुरा सकिएपछि घर जान पास माग्ने श्रमिकहरु छन् भने कोही कार्यालय प्रयोजनका लागि पास माग्नेहरु छन् । यस्तै अत्यावश्यक कामका लागि घर जानु पर्ने भन्दै पास लिन आउनेहरु पनि छन् ।

लकडाउन सुरु भएसँगै सरकारले अत्यावश्यक कामका लागि पास दिने व्यवस्था गरेको थियो । पास वितरण गर्दा लकडाउन उल्लंघन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै इ–पास लिने व्यवस्था गृह मन्त्रालयले गरेको थियो । तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारको कामका लागि बाहेक अन्य कामका लागि इ–पास नदिने बताएपछि अहिले कार्यालयमै आएर पास माग्नेहरुको भिड बढेको हो । यसबाट लकडाउन उलङ्घन मात्र भएको छैन कोरोना भाइरसको संक्रमणको जोखिम समेत बढेको छ ।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद लगातयका अत्यावश्यक कामका लागि बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेश हो । तर जिल्ला प्रशासन कार्यालयले पास वितरणमा अस्पष्ट नीति लिएपछि अहिले फेरी कार्यालय अगाडि भिड लाग्ने गरेको छ । जसबाट कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ ।

Logo