विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत छः परराष्ट्रमन्त्री

विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत छः परराष्ट्रमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षसँग प्रत्यक्ष संवाद गरेका छन् । मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका एनआरएनका अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपाली समुदायको आवाजको सुनुवाइ गरे ।

उनले नेपालमा लकडाउनको अवस्था लम्बिँदै गएकाले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिए । “विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुपमा जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुने बित्तिकै नेपाल फर्काउन प्रक्रिया शुरु गर्छौँ”, मन्त्री ज्ञवालीले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सकारात्मक छ ।’

सरकारले कूटनीतिक नियोग र एनआरएनसँगको छलफलबाटै समस्याको समाधान निकाल्ने बताउँदै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गरे । उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसाका साथै कोरोनाविरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायत काममा एनआरएनएका शाखाले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँग समेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा एनआरएनएसँग मिलेर काम गर्न नेपाली दूतावासहरु सक्रिय पारिएको जानकारी पनि दिए ।

बैठकमा एनआरएन अन्तरराष्ट्रिय समितिका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताए। अध्यक्ष पन्तले भने, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनका लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’

अध्यक्ष पन्तले कोरोनो भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसँग मिलेर काम गर्न संस्था तयार रहेको बताएको एनआरएनए कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।रासस

Logo