कोरोना संक्रमित ६५ वर्षीया महिला डिस्चार्ज भएकै दिन अर्का ६५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ

कोरोना संक्रमित ६५ वर्षीया महिला डिस्चार्ज भएकै दिन अर्का ६५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ

केन्द्रबिन्दु
0
Shares

नेपालकी छैटौँ कोरोना सङ्क्रमित मनकुमारी पौडेल अस्पतालबाट डिस्चार्ज भएकी छन्  । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित पौडेलको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनी डिस्चार्ज भएकी हुन्।

“सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ”, मनकुमारीले भनिन, “औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।

“दमको रोगी भएका कारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने थियो, हिम्मत हारिन आत्मबल बढाउँदै लगे अन्त्यमा कोरोनलाई जितेर घर फर्कने भएकी छु”, उनले भनिन । मनकुमारीले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी छन् । उनले अन्य सङ्क्रमितलाई समेत धैर्य गरेर अस्पतालमा बस्न आग्रह गरेकी छन् । आफूले घरमा समेत सरसफाइका साथ परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै पूर्वसचेतनासमेत अपनाउन पर्ने बताइन् ।

गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो ।

६५ वर्षिया मनकुमारी पौडेल निको भएकै दिन उदयपुरमा ६५ बर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए । उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए  ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताए ।

Logo