काठमाडौं ।
राष्ट्रिय एचआईभी/एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित १२ वर्ष मुनिका बालबालिकालाई दुईमहिनाको लागि राहत वितरण गर्ने भएको छ ।
जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको हो । महासंघले प्रतिमहिना ८ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १० वटा अण्डा, १ किलो गहुँको पीठो, १ किलो चिनी राहतस्वरुप प्रदान गरिने एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिए। यसैगरी दूध दुई लिटर, फलफूल एक किलो र खाने तेल एक लिटर वितरण गरिनेछ । उक्त राहतसँगै यातायात खर्चबापत ८० रुपैयाँसमेत प्रदान गरिने उनले जानकारी दिए । महासंघको खर्च नहुने र भइपरी आउने बजेटबाट रकम छुट्याएर २ वर्षमुनिका ६ सय बालबालिकालाई राहत वितरण गरिने उनले बताए ।
एचआईभी संक्रमित ४५ वर्षमाथिका ७ सय ३२ जनालाई पनि बालबालिका सरह दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरिने भएको छ । अभिभावक गुमाएका अति गरिब तथा विपन्न १२ वर्षमुनिका बालबालिका र ४५ वर्षमाथिका संक्रमितहरुलाई एनएपीएनमा आवद्ध ५९ वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिका लगायतलाई उक्त राहत वितरण गर्नेछन् । नेपालमा १६ वर्षमुनिका एक हजार तीनसय ४५ जना बालबालिका एचआईभी संक्रमित रहेका छन् । जसमा सात सय ३० बालक र ६ सय १५ बालिका रहेका छन् । उनीहरुमा पनि एक अभिभावक गुमाएका बालबालिकाको संख्या पाँचसय पचास रहेको अध्यक्ष दिदियाले जानकारी दिए । १९१ बालबालिकाका दुवै अभिभावक छैनन् ।
एनएपीएनको तथ्यांक अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी तीनसय दश बालबालिका एचआईभी संक्रमित रहेका छन् । त्यस्तै प्रदेश ५ मा दुई सय ९२, बागमती प्रदेशमा दुई सय ७४, प्रदेश २ मा एकसय ७२, गण्डकी प्रदेशमा एकसय ४८, प्रदेश १ मा ९७ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५२ जना एचआईभी संक्रमित बालबालिका छन् ।
सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ । एनएपीएनले घरदैलो गरी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले गरेको लकडाउनको समयमा घरदैलोमार्फत देशभरका एचआईभी संक्रमितको हातहातमा एआरभी औषधि पु¥याउँदै आएको छ ।





























प्रतिक्रिया