थप रहस्यमय बन्दै टोखा घटना, चार वटा टोली अनुसन्धानमा

थप रहस्यमय बन्दै टोखा घटना, चार वटा टोली अनुसन्धानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

‘पूर्वजन्ममा म उहाँको छोरा रहेछु, यो जन्ममा बाबु। मैले सायद के पूरा गर्न सकिनँ छाडेर जानुभयो।’ ६८ वर्षीय तारकबहादुर केसी बानेश्वर थापागाउँस्थित पञ्चकुमारी किरियाघरमा मंगलबार यसरी मन बहलाउँदै थिए। आँखा रसाइरहेकै थिए। तापनि, शुभेच्छुकसँग उनी भन्थे, ‘हिजोको भागभोग हो। उसले चाँडै सन्सार छाड्यो।’

तारकका छोराबुहारी उमेश र सुदीक्षा शुक्रबार राति टोखामा मृत फेला परेका थिए। तारक छोराबुहारीको किरियामा बसेका छन्। किरियापुत्री भवनमा कोठाबाहिर उमेशको फोटोमा माला चढाइएको थियो। नजिकै दियो बलिरहेको थियो। बुहारीको फोटो नभएकाले ल्याउने तयारी भएको उनले सुनाए।

उनले उमेश परिवारसँग अलग्गिएर बस्नुको कारणबारे भने, ‘सायद उसलाई स्वतन्त्र भएर बाँच्ने इच्छा थियो। हामीले जबरजस्ती गरेनौं। ऊ राम्रैसँग बसेको थियो। टोखा बसे पनि आउजाउ गथ्र्यो।’

प्रारम्भिक अनुसन्धानका नाममा बुहारी (सुदीक्षा)ले उमेशको हत्या गरेर आफूले आत्महत्या गरेको बुझाइप्रति उनले असहमति जनाए। ‘यो काल्पनिक कुरा मात्रै भएन र ? मारेको र मरेको देख्ने प्रत्यक्षदर्शी कोही छ ?’, उनले भने, ‘अब प्रहरी अनुसन्धानले देखाउला सत्यतथ्य के रहेछ।’

घटनास्थल महानगरीय प्रहरी वृत्त महाराजगन्ज मातहतको जिम्मामा छ। संयोग ! वृत्तका डीएसपी रोशन खड्का तारककै विद्यार्थी रहेछन्। ३७ वर्ष शिक्षण पेसामा बिताएका तारक ३४ वर्ष त आदर्श विद्या मन्दिर (एबीएम)मा रहे। डीएसपी खड्काको स्कुले उमेर उनै तारकसँग जोडिन्थ्यो। तारकले भने, ‘डीएसपी खड्का मेरै विद्यार्थी रहेछन्। मैले फोन गर्न पनि हिम्मत गरेको छैन। अनुसन्धानमा राम्रै दख्खल राख्ने केटो हो। यो घटनाको पर्दापछाडि को छ ? त्यो बाहिर आउने आस छ।’

सुदीक्षाका माइती अमेरिकामा बस्दै आएका छन्। उमेशका परिवारजनले सुदीक्षाकी दिदी शर्मिलालाई मात्रै चिन्छन्। तिनै शर्मिला प्रहरी र उमेशका परिवारको शंकाको घेरामा छिन्। प्रहरीले लामो सोधपुछपछि उनलाई छाडेको छ।

‘शुक्रबार बिहान साढे ६ बजे शर्मिला उमेशको कोठामा पुगेर घटना देखेपछि प्रहरीलाई किन खबर गरिनन् ?’, उमेशका दाजु हिमेशले भने, ‘हामीलाई त क्यानडाबाट सूचना आएको हो।’ १२ घण्टापछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाउनु, शर्मिलाले प्रहरीमा तत्काल खबर नगर्नु, क्यानडासम्म घटना थाहा पाउनु, हिमेशका परिवारले उमेश र सुदीक्षाको शव अस्पताल पुगेपछि मात्रै थाहा पाउनुले घटना शंकास्पद रहेको बुझाइ प्रहरीको छ।

गर्भवती थिइन् सुदीक्षा
त्रिवि शिक्षण अस्पतालमा शव पोस्टमार्टम गर्दा सुदीक्षाको गर्भमा दुई महिनाको बच्चा रहेको पाइएपछि परिवारका सदस्य झन् मुर्छित भएका छन्। उमेश अमेरिकाबाट नेपाल फर्किएको चार महिना भएको थियो। उनी फूलपातीका दिन नेपाल आएका थिए। जनवरी १४ मा अमेरिका उड्ने तयारी थियो।

‘बच्चा पाउने तयारीबारे उमेशले परिवारका कसैलाई जानकारी दिएका थिएनन्। हाम्रो शंका गलत पनि हुन सक्छ’, हिमेशले भने, ‘कतै त्यही बच्चा पाउने वा नपाउने विषयलाई लिएर पो घटना भएको थियो कि !’

उमेश र सुदीक्षाबीच ६ वर्षअघि विवाह भएको थियो। बिहेमा सुदीक्षाका परिवारबाट शर्मिला र उमेशका तर्फबाट हिमेश मात्रै थिए। ‘उनीहरूले एकले अर्कोलाई मन पराए। बिहे गर्ने भनेपछि सहमतिमै गराइदियौं’, हिमेशले भने, ‘सम्बन्ध राम्रै थियो। एकाएक यो घटना आइलाग्यो।’

चार टोली अनुसन्धानमा
टोखा घटना अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा, महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त महाराजगन्जका गरी चार टोली खटिएका छन्। प्रहरीले घटनास्थलबाट सुदीक्षा र उमेशका मोबाइल, सिलौटा, लोरोलगायत सामान बरामद गरेर प्राविधिक पक्षबारे अनुसन्धान गरिरहेको छ।अन्नपूर्णबाट

Logo