भरतपुर महानगरपालिकाले भन्यो, ‘अब मजदूर भोक भोकै बस्नु पर्दैन’

भरतपुर महानगरपालिकाले भन्यो, ‘अब मजदूर भोक भोकै बस्नु पर्दैन’

केन्द्रबिन्दु
0
Shares

भरतपुर ।

भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको छ ।

मजदूरलाई खानका लागि राहतको व्यवस्था गरेको जनाउँदै महानगरपालिकाले जहाँ रहेको हो त्यही ठाउँमा बसेर लकडाउनको पालना गर्न आग्रह समेत गरेको छ ।

महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत वितरण गरिसकेको र राहतको आवश्यकता भएका ज्याला मजदूरी गरेर बस्नेलाई राहत प्रदान गर्दै जाने बताइन् । उनले भनिन् “खानाको अभावले बाहिर भौतारिनु पर्दैन ।”

उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठान जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठित ठाउँमा काम गर्ने मजदूर समस्यामा परेका हुन् । उनीहरुलाई महानगरले राहत दिएको छ ।

सङकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उनले अत्यावश्यक भएका परिवारले मात्र राहत लिइदिन आग्रह गरेकी छिन् । वडा कार्यालयबाट राहत बितरण गरिएको छ । काठमाडौंसहित विभिन्न शहरबाट भरतपुर महानगरहुँदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई यहाँ खानाको व्यवस्था समेत गरिएको छ ।

नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरुलाई स्थानीय तहसँग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् । भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ क्वीन्टल चामल, १ सय १९ क्वीन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ वटा साबुन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ क्वीन्टल आलु र चना, २ हजार ३६ प्याकेट भुजा वितरण गरेको जनाएको छ ।रासस

Logo