दैनिक ९० लाख ७० हजार ब्यारेल तेल उत्पादनमा कटौती गरिने

दैनिक ९० लाख ७० हजार ब्यारेल तेल उत्पादनमा कटौती गरिने


काठमाडौं ।

तेल उत्पादक देशहरुको संगठन (ओपेक) र सहयोगी देशहरुका बीचमा तेल उत्पादनमा कटौती गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार अब ओपेक र उसका सहयोगी तेल उत्पादक देशहरुले आगामी मे १ देखि हरेक दिन ९० लाख ७० हजार ब्यारेल तेल उत्पादनमा कटौती गर्ने भएका छन् । त्यस्तै, ओपेक प्लस समूह बाहेकका देशहरु अमेरिका, ब्राजिल, क्यानडा र नर्वेले पनि ५० लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्ने भएका छन् ।

यतिबेला विश्व कोरोना भाइरसको संक्रमणका कारण आक्रान्त बनेको अवस्थामा विश्वको अर्थतन्त्रमा पनि संकट आएको छ । सोही कारण विश्व बजारमा तेलको मागमा कमी आएको छ । तेलमा आएको कमीका कारण विश्वका तेल उत्पादक मुलुकहरुले तेलको कटौती गर्न सम्झौता गरेका हुन् । सो सम्झौतापछि मूल्य स्थिर राख्नका लागि तेल उत्पादनमा १० प्रतिशतको हाराहारीमा कटौती हुने बताइएको छ ।

भिडियो कन्फ्रेन्समार्फत भएको उक्त सम्झौता तेल उत्पादनको कटौतीमा हालसम्मकै ठूलो हो । सो सम्झौता भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी उतावचडाव आएको छ ।

सोमबार एशियामा सुरुवाती कारोबारमा तेलको मूल्य ३.९ प्रतिशत (प्रतिब्यारेल एक डलरले बढेर ३२.७१ डलर ) पुगेको छ । त्यस्तै, यूएस ग्रेड वेस्ट टेक्सस इन्टरमिडिएट ६.१ प्रतिशतले बढेर प्रतिब्यारेल २४.१५ डलर पुगेको छ । ओपेक प्लस तेल उत्पादकहरुका बीच ९ अप्रिलमा तेल कटौतीको विषयमा सम्झौता हुनुपर्ने भएपनि मेक्सिकोले उत्पादनमा कटौतीको विरोध गरेपछि सम्झौता गर्न ढिला भएको थियो ।

Logo