- टंक कार्की-
०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदै थिएँ । झापाबाट म पैदलै हिंडेर इलाम पुगें । म सोझै रत्नकुमारको डेरामा पुगें । केहि महिना अघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुंगबाट आउँदा त्यहाँ निस्की सकेका थियौं । त्यसो त हामी पहिला नै झापाली, भई सकेका थियौं ।
कोठामा छिर्ना साथै मैले भारी बिसाएँ र हात मिलाउन थालें, कर्याप्प हात समातेर ।
तपाईं थाक्नु भको होला, एकछिन आराम गर्नोस , रत्नले मसिनो तर उही आत्मीय भावले भने ।
त्यहाँ रत्नकुमार, गणेश राई र बसन्त पराजुली कोठा भित्रै थिए । म भने छोरी माईत आए जस्तै फुरुंग थिएँ , आत्मियता जो थियो, मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्यो (उस्तै उमेर, हित्तचित्त मिलेका, खाई लाग्दा त थिए नै, त्यो भन्दा बढ्ता उनीहरुको अनुहारमा निश्छल समर्पण प्रष्टै देखिन्थ्यो, आजभोलि जसलाई व्यवहारवादी राजनीति भनिन्छ र मालिक र कारिन्दाको व्यवहार गरिन्छ त्यसको कहीं कतै नामो निसाना थिएन । लाग्थ्यो हामी एउटै आमाका लाम्टा चुसेका हौँ । अनि मनमनै गमथें, मेरो सानो समर्पण गलत ठाउँमा छैन, यिनीहरु मिशनका पक्का जोधाहा हुन् , बस, मलाई के चाहियो ?
रत्नकुमार बाँकी दुई जनाका पनि अगुवा त छँदै थिए, शिल र समाधिमा उस्तै भए पनि प्रज्ञामा उनी माथिल्लो कोटीका थिए । अहिले लाग्छ, उनको समर्पण नै प्रज्ञा, शिल र समाधिको फ्युजन हो । निजात्मक उन्नयनको छक्कापन्जा या सुतिखेती थिएन ।
म त्यहाँ बस्दाबस्दै उनले धेरै जनासँग संवाद चलाए । कोही अलिक पाका, कोही तरुण (तर ती म भन्दा प्रौढ थिए, बेलुका सँगै खाना खायौं (खाना उनैले बनाए, अनि हामी हाम्रो ब्युजिनेसमा लाग्यौं । विद्यार्थी आन्दोलनको चर्चा गर्यौं, कम्युनिष्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्यौं, झापा विद्रोहले प्रशस्त गरेको बाटोमा छलफल चलायौं । पार्टी विस्तारका सम्भावनाका कुरा , यता त उत्साहजनक प्रगति भईरहेको छ ्र ताप्लेजुङ्गको निम्ति के गर्नु पर्ला ? उनले यो पनि भनेका हुन्, माओत्सेतुङ्गलाई उद्धृत गर्दै, क्रान्ति कार्चोपी भर्नु होइन, न त भोज भतेर गर्नु नै ।
बिना समर्पण र बिना बलिदान आस गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ । उनी बोल्दै गर्दा म भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौडदै गरेको सपना देख्दै थिए ।
अलिक अघि मात्रै म बिराटनगर क्याम्पसबाट रेस्ट्रिकेट भएको, ४ वर्ष अघि एसएलसीमा पनि , आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ, बदल्नुको विकल्प छैन (हेलिनु पर्छ क्रान्तिमा, उनी मलाई ढाडस दिदै थिए, यो सत्ताको बल नै अत्याचार हो, हामी अबेर सम्म विमर्शमै रह्यौं । भोलिपल्ट विहानै म लागें आफ्नै दर्गादिशा । यो नै मेरो रत्नकुमार बान्तवासँगको अन्तिम भेट थियो । त्यसको तीन वर्ष पछि म काठमान्डूमा ।
भरतले दुखद समाचार सुनाए, कमरेड रत्नकुमारको सहादत भयो, म खग्रंग भएँ, नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो । आजभोलि काठमान्डूमै छु । अक्कल झुक्कल सोनाम साथिलाई भेट्छु, उनलाई देख्दा अनायास म आफैंलाई उहीं इलामको झझल्को आउँछ । (आज उ सत्ता त छैन तर रत्नकुमारहरु हराउन थालेका छन्)
हार्दिक श्रद्धान्जली तथा लाख लाख नमन, कमरेड रत्न कुमार बान्तवा ।
(यो लेख हामीले कार्कीको फेसबुकबाट साभार गरेका हौँ )





























प्रतिक्रिया