काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन सम्बद्ध संघ संस्थाका प्रमुखहरुसँग ‘भिडियो कन्फरेन्स’ गरेका छन् । मन्त्री भट्टराईले ‘भिडियो कन्फरेन्स’ गरेर कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्रमा जारी असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीहरुको सबै खालका सुरक्षा र आगमी कार्ययोजना बारेमा छलफल गरेका हुन् ।
आज (शनिबार) १ घन्टा १० मिनेट भएको ‘भिडियो कन्फरेन्स’मा पर्यटन क्षेत्रसँग सम्बद्ध संघ–संस्थाका प्रमुखहरूले आ–आफ्नो क्षेत्रले भोगिरहेको समस्या, आगामी कदम र सरकारसँगको अपेक्षाको बिषयमा कुरा राखेका थिए । छलफलमा होटल एशोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्षमा खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर र नपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं सहभागी थिए ।
छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीहरुको दैनिक जीवनको बिषयमा विशेष ध्यान दिन आग्रह गरे । कुनै पनि श्रमिकलाई भोकै रहन नदिनको लागि आ–आफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन मन्त्रीले अनुरोध गरे । मन्त्री भट्टराईले भने, ‘देशको जुनसुकै भु–भागमा रहेका श्रमिक तथा मजदुरहरु भोकै बस्ने अवस्था रहन दिनु हुदैंन । कही कतै समस्या भएको भए मलाई खबर गर्नुहोस् । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उहाँहरुको तत्कालै समस्या समधान गर्नुपर्छ । आफ्नो संगठनको संयन्त्र मार्फत प्रभावकारी रुपमा सूचना आदन प्रदान र समन्वयको लागि मेरो विशेष आग्रह छ ।’
मन्त्री भट्टराईले लामो समय लकडाउनको अवस्था जाने अवस्थामा श्रमिकहरुको दैनिक जीवनयापनको लागि फरक विकल्प पनि सोच्नुपर्ने बताए । उनले भने, ‘यदि लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकहरुको सुरक्षा कसरी गर्ने ? त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौं ।’
महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिने मन्त्री भट्टराईको भनाई छ । उनले भने, ‘हिमाल सफाई लगायत काममा श्रमिकहरु परिचालनको बिषय पनि उठेको छ, यसको सम्भावना बारेमा पनि हामीले अध्ययन गरीरहेका छौं ।’ उनले पर्यटन बोर्डलाई श्रमिकहरुको लागि आवश्यक कोष बनाउनको निम्ती तयारी थाल्न पनि निर्देशन दिए ।

मन्त्री भट्टराईले यो महामारी विरुद्धको लडाईमा सबैको समन्वय र एक्यबद्धता जरुरी रहने भन्दै प्रभावकारी समन्वयका लागि अनुरोध गरे । मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा पर्यटन बोर्डको समन्वय र अगुवाईमा तथ्याङ्क संकलन भइरहेको जानकारी दिदै त्यसमा प्रभावकारी रुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न आग्रह गरे । मन्त्री भट्टराईले महामारीबाट सुरक्षित रहनका लागि आ–आफ्ना संयन्त्रहरु मार्फत नियमित सूचना प्रवाह र समन्वय गर्न पनि आग्रह गरे ।
छलफलमा नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पछिल्लो अवस्थामा बोर्डले गरीरहेको कामको बारेमा जानकारी गराएका थिए । डा. रेग्मीले पर्यटन बोर्डको नेतृत्वमा भईरहेको तथ्याङ्क संकलनमा सबै सामेल हुन पनि आग्रह गरे । डा.रेग्मीले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा सही तथ्याङ्क नभएसम्म आगमी कार्ययोजना बनाउन समस्या हुने बताउदै बोर्डले जारी राखेको सर्भेमा सामेल हुन आग्रह गरे ।
संघ संस्थाका प्रमुखहरुले पर्यटन मन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाईमा विदेशी पर्यटकहरुको उद्दारमा भएको कामको प्रशंसा समेत गरे । यसले विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाई थियो ।





























प्रतिक्रिया