कालाबजारी गर्दैगर्दा ‘रंगेहात’ पक्राउ परेका एक ब्यापारी छुटाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड प्रहरी कार्यालय पुगेपछि विरोध शुरू भएको छ । सामाजिक सञ्जालदेखि विभिन्न नेताहरुले उनको रवैयाको विरोध गरेका छन् ।
नेकपा स्थायी समिति सदस्य भिम रावलले कालाबजारी छुटाउन दवाव दिँदै हिड्ने राज्यमन्त्री मोतीलाल दुगडलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । राज्यमन्त्री दुगड हिरासतमा रहेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई छुटाउन दरबार मार्गस्थित प्रहरी बृत्त पुगेका थिए । ‘थर्मल गन’को कालाबजारी गर्दैगर्दा किर्गिजस्तानका अवैतनिक महाबाणिज्य दूत (अनरेरी कन्सल) समेत रहेका अग्रवाललाई प्रहरीले ‘रंगेहात’ पक्राउ गरेको थियो । ५ हजार पनि नपर्ने ६७ वटा ‘थर्मल गन’ १५ हजारमा बिक्रि गर्न अग्रवाल आएपछि प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो । तर, राज्यमन्त्री मोतीलाल दुगडले प्रहरी कार्यालय नगएको दावी गर्दै आएका छन् । उनले भनेका छन्, आरोप लगाउनेहरुले प्रमाण ल्याउन सक्नु पर्छ ।
उनै कालाबजारी अग्रवाललाई छुटाउन राज्यमन्त्री दुगडको सक्रियता हिजोआज ह्वात्तै बढेको छ । स्रोतका अनुसार उनी बालुवाटार, खुमलटार र गृहमन्त्री निवास हरिहरभवनतिर भौतारिरहेका छन् । यी तीनवटै निकायले राज्यमन्त्री दुगडलाई ‘ग्रिन सिग्नल’ नदिएपछि उनी लैनचौरस्थित भारतीय दुताबासका अधिकारीमार्फत समेत दवाव दिलाउन लागिपरेका छन् । भनिन्छ, ‘दुगडको भारतीय संस्थापनसँग राम्रो सम्बन्ध रहेको छ ।’
दुगडको भारत ‘कनेक्सन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल पुनर्गठन गर्दा मोतीलाल दुगड राज्यमन्त्री बन्न सफल भएका थिए । उनी उद्योग, बाणिज्य तथा आपूर्ती राज्यमन्त्रीमा नियुक्त भएपछि भारतीय छापाहरुमा उनकालागि बधाई संदेश प्रकाशित भएका थिए । बधाई संदेशहरुवाट उनी भारतीय रहेको बुझिन्छ । ‘अखिल भारतीय जैन स्वेताम्बर तेरापंथी सभा’ ले दिएको बधाई संदेशमा उनी भारतको राजस्थान निवासी भएको उल्लेख छ ।

राज्यमन्त्री दुगडको जन्म भारतको राजस्थानस्थित फत्तेपुरमा भएको हो । उनलाई भारतमा ‘प्रवासी भारतीय’ भनेर संबोधन गर्ने गरिन्छ । उनका बाबु हरिसिंह फत्तेपुरवाट ब्यापारको सिलसिलामा मोरङको विराटनगर आएका थिए । र, उनी विराटनगर नै बस्न थालेका थिए । पछि मोतीलाल पनि बाबुसँगै आएर विराटनगर बस्न थालेका हुन् । उनका बाबु तेल ब्यापारको सिलसिलामा सन् १९८४ मा नेपाल आएका थिए । बाबु खुज्रे ब्यापारी भएपनि मोतीलाल भने कालान्तरमा ठूलै ब्यापारी बने । उनलाई नजिकबाट जान्ने विराटनगर निवासी एक ब्यापारी भन्छन् – ‘मुल काम ब्यापार भएपनि मोतीलाल राजनीतिमा गहिरो रुची राख्ने महत्वकांक्षी ब्यक्ति हुन् ।’
राजनीतिमा गहिरो रूची भएका ब्यापारी मोतीलाललाई पहिलो संविधानसभामा नेपाल सदभावना ‘आनन्ददेवी’ पार्टीले सभासद् बनाएको थियो । त्यसपछि संविधान जारी भएपछि भएको आम चुनावमा उनी तत्कालीन एमालेवाट समानुपातिक सांसद बन्न सफल भए । र, हाल उनलाई नेकपाले राज्यमन्त्री बनाएको छ । एक उच्च स्रोत भन्छ,–‘यो सबै उतैको देन हो ।’
राजनीतिमा मोतीलाल
पहिलो संविधानसभा चुनावमा नेपाल सदभावना ‘आनन्ददेवी’ पार्टीबाट सभासद बनेपछि मोतीलालप्रति मान्छेको चासो बढेको थियो । उनलाई त्यसवेला समानुपातिक तर्फबाट सभासद बनाउन आनन्ददेवी पार्टीका तत्कालीन तीन नेताहरु श्यामसुन्दर गुप्ता, सरिता गिरी र खुसीलाल मण्डलले मोटो रकम असुलेको चर्चा चलेको थियो । तर, उनी उक्त पार्टीमा लामो समय बसेनन् ।
दोस्रो संविधान सभा चुनावमा मोतीलालले ‘नव नेपाल’ नामको भिन्न पार्टी खोले । आफू पार्टीको अध्यक्ष भएर पनि समानुपातिकमा बसे । र, ५६ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरे । उनको चुनाव चिन्ह थियो, खरायो । तर उनको खरायो सुतेको सुतै भयो । देशभरीवाट ३ हजार भोट पनि पाउन सकेन उनको पार्टीले । अर्को शब्दमा भन्नुपर्दा पानी पनि भन्न पाएन, खरायोले । करोडौं खर्च गर्दा पनि पार्टी स्थापित गर्न नसकेपछि उनी तत्कालीन एमाले पार्टी प्रवेश गरे ।
एमाले प्रवेश गरेपछि मोतीलालले एक सुत्रियरुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र उक्त समूहको चाकडी सुरु गरे । ओली पूर्व जाँदा खर्चबर्चको सम्पूर्ण ब्यवस्था उनैले मिलाउन थाले । यसैको पुरस्कार स्वरुप उनलाई चुनावमा समानुपातिक तर्फ उम्मेदवार बनाइयो । र, सांसद पनि । कुरो यत्तिमा सीमित रहेन । उनले मन्त्री हुने सपना देख्न थाले । र, ओली मन्त्री परिषदको दोस्रो पुनर्गठनमा उनी राज्यमन्त्री पड्काउन सफल भए । त्यो पनि उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्रालय ।
भनिन्छ, हाल राज्यमन्त्री मोतीलाल क्याबिनेट मन्त्री बन्न सक्रिय छन् । राजनीतिक सोच नभएका, देश विकाशको सुत्र नभएका, पार्टीका नव आगन्तुक र जनाधार पटक्कै नभएका मोतीलाललाई किन मन्त्री बनाइएको हो ? नेकपाका नेताहरु नै यस सम्बन्धमा बेखवर छन् ।
ब्यापारमा मोतीलाल
विराटनगरमा मोतीलाल परिवारको ब्यापारिक इतिहास धेरै लामो छैन । उनका बाबु भारत राजस्थानको फत्तेपुरवाट सन् १९८४ मा खुज्रे ब्यापारीको रुपमा यहाँ आएका थिए । उनी तेल ब्यापारीको रुपमा आएको पनि भनिन्छ ।
उनीहरुको खास ब्यापार भनेको मसला हो । त्यसपछि अचार, पापड, चिप्स् र दालमोठ–भुजिया हो । यी सबै कुराको ब्यापारलाई एउटै संस्थावाट ‘रिकक्नाइज’गर्न सेन्चुरी स्न्याक्स् एण्ड फुड्स् इन्डस्ट्रिज स्थापना गरिएको छ । यो उद्योग विराटनगर टंकिसिनवारीमा रहेको छ ।
सेन्चुरी मसला, कुर्मुरे र सेन्चुरीनामवाट उत्पादन हुने अचार, पापड, भुजीया लगायतका ब्राण्ड मोतीलालका हुन् । उनलाई खासगरी भारतीय ब्राण्डेड उत्त्पादनहरुको नक्कल गर्ने गरेको आरोप छ ।
मोतीलालले फ्याक्ट्री सुरुगर्दा भारतीय एक कम्पनीको लोकप्रिय उत्पादन कुरकुरे नक्कल गरेर कुरमुरे सुरु गरेका थिए । आफ्नो उत्पादनको नक्कल गरेको भन्दै उक्त भारतीय कम्पनीले मोतीलालको सेन्चुरी स्न्याक्स् एण्ड फुड्स् इन्डस्ट्रिजलाई उद्योग मन्त्रालय र विभागमा उजुरी गरेको थियो । तर उनले यो उजुरीलाई सजिलै ढिसमिस गरिदिएका थिए ।
उनी विरुद्ध अहिले पनि श्रम विभागमा एउटा मुद्धा थाति रहेको छ । आफ्ना मजदुर तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिएको हुनाले उनीविरुद्ध मुद्धा परेको थियो । यस मुद्धालाई पनि फाइलमा बन्द राखिराख्न उनी सफल हुँदै आएका छन् । उनको लफडा आफ्ना पार्टनर र बैंकसँग पनि रहेको छ । विराटनगरमा निर्माण सुरु गरिएको सेन्चुरी मल अहिले बीचैमा रोकिएको छ । बैंक र सञ्चालकहरुको विवादका कारण यो मलको निर्माण अघि बढ्न नसकेको हो ।
विराटनगरमा उनको दुईवटा होटल ‘हर्रीसन प्यालेस’ र ‘फन एण्ड फुड भिलेज रिसोर्ट’ पनि सञ्चालनमा छन् ।





























प्रतिक्रिया