काठमाडौं ।
कोरोना (कोभिड-१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस् त। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ।
अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ। यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे परिचालनका जनशक्ति अभाव हुने देखिएको छ।
भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ। यो जनशक्ति अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रादेशिक अस्पतालमा यिनै तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खटाइनेछ।
अहिले संघीय सरकारले सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा तीन/तीन जना कर्मचारी खटाएको छ। क्वारेन्टाइनको अवस्था अनुगमन गर्ने, प्रयोगशालाको अवस्था र थ्रोट स्वाबको परीक्षण हेर्ने, कर्मचारी व्यवस्थापन लगायत कार्यको समन्वयका लागि खटिएका छन् । प्रदेशमा खटिएका एक सहसचिवका अनुसार कर्मचारी व्यवस्थापनको अवस्था कमजोर छ। ‘यदि कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा उपचारमा खटिने दक्ष चिकित्सक र नर्सको अभाव खड्किने देखिन्छ’, ती सहसचिवले भने।
स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले मुलुकका ७७ वटै जिल्ला अस्पतालमा चिकित्सकसहित नर्स र पारामेडिक्सलाई तालिम दिनुपर्ने बताए। उनले भने, ‘लकडाउन समयमै नगर्दा नौ जना संक्रमित भेटिए। चिकित्सक र नर्सलाई समयमै तालिम दिएर तयारी अवस्थामा नराख्दा महामारीको अवस्थामा अप्ठ्यारो हुन्छ।’
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलियो र महामारीको रूपमा लिएको अवस्थामा चिकित्सक लगायत स्वास्थ्यकर्मी अभाव खड्किने देखिएको छ। पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत स्वास्थ्य सामग्रीसमेत पर्याप्त व्यवस्था नभएको अवस्थामा महामारी भए जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएको हो।
डा. प्याकुरेलले भने, ‘प्रदेश तहमा गएर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टसहित चिकित्सक, नर्स र अहेवहरूलाई तालिम दिनुपर्छ।’ प्रादेशिक अस्पताल र जिल्ला अस्पताल लगायत हरेक अस्पतालमा कम्तीमा ३ देखि ५ जनालाई तालिम दिनुपर्ने आवश्यकता रहेको उनले बताए।अन्नपूर्णबाट





























प्रतिक्रिया