सिन्धुपाल्चोक।
चीनमा कोरोना भाइरसको संक्रमण देखिए पछि बन्द रहेको नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी ७३ औं दिनपछि बुधबार साँझबाट सञ्चालनमा आएको छ । नाका सञ्चालनमा आए पछि चीनबाट १९ कार्टुन मास्क र १० कार्टुन स्यानिटाईजर नेपाल आएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।
उनका अनुसार नाकामा यसरी आएका सामानलाई भन्सार र्याडमा १२ घण्टा क्वारेन्टाइनमा राखेर बुधबार साँझ भन्सार जाँच पास गरि काठमाडौं पठाइएको छ । उनले भने, तत्कालका लागि चीनले अत्यावश्यक वस्तु मात्रै यस नाका भएर पठाउने जानकारी दिएको छ ।
रसुवागढी नाका अहिले नखुल्ने
तातोपानी नाका खुले पनि अहिले नै रसुगाढी नाका नखोल्ने चीनले नेपाल सरकारलाई जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाकाबाट मात्रै खोल्ने जानकारी चीनले पठाएको छ ।

चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको लागि आग्रह गर्दै वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको थियो ।





























प्रतिक्रिया