एकैदिन ३ लोपोन्मुख जनावरकाे मृत्यु

एकैदिन ३ लोपोन्मुख जनावरकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।

डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ ।

त्यस्तै पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको जंगलमा सोमबार गैंडाको बच्चा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कावासोती नगरपालिकाको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा अन्दाजी तीन महिनाको पोथी बच्चा (केटी) मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाको खाग र खुर भने सुरक्षित छ ।

यता चितवनकाे कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।

Logo