काठमाडौंमा ३ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

काठमाडौंमा ३ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने  ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ।

एकजना युवती बिरामी भएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको बताइएको छ ।

त्यसैगरी एकजना युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । दुबै जनाको मृत्युको कारण नखुलेको भए पनि कोरोना परीक्षणका लागि स्याम्पल टेकु अस्पतालमा पठाइएको वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी दिए ।

त्यस्तै पाटन अस्पतालमा मृत्यु भएकाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म  ९ सय ९३ जनाको  कोरोना भाइरस परीक्षण भएको जानकारी दिएको छ । आज मात्रै थप ७६ जनाको परीक्षण भएको जानकारी दिएको हो ।

मन्त्रालयले टेकूको आइसोलेसनमा ४ जना र पाटनमा ३ जना उपचाररत रहेकाे समेत जानकारी दिएको छ । चार वटा पोजेटिभ केसहरुमध्ये एक जनाकाे निको भइसकेको र अन्य तीन जनाकाे उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देबकोटाले हालसम्म मृत्यु भएका मानिसहरुको कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको जानकारी दिएका छन् ।

आइतबार बुटवलको कोरोना अस्पतालको क्वारेन्टाइनमा रहेका एक जनाको निधन भएको थियो । उनको कोरोनाका कारण मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

उनले चीनबाट ल्याइएको स्वास्थ्य सामग्री स्थानीय तहमा प्रदान गरेको समेत जानकारी दिए ।

Logo