काठमाडौं ।
स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा कार्यक्रम संयोजक रहेका विश्वम्भर घिमिरेले आफ्नो डिल्लीबजारस्थित घर क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् ।
देश संकटमा परेको वेला नागरिकले सहयोग गर्नुपर्ने भन्दै उनले अहिले होटेल तथा विभिन्न कार्यालय रहेको आफ्नो पाँचतले घरलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् । उनले कोरोना संक्रमितको उपचारका लागि खर्च गर्ने गरी सरकारले स्थापना गरेको कोषमा एक लाख रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरिसकेका छन् ।
सरकारले कोषको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा रहेको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न आह्वान गरेको सन्दर्भमा उक्त कोषमा अनलाइन जम्मा गर्न सकिने व्यवस्था मिलाउन पनि घिमिरेले सरकारसँग आग्रह गरेका छन् ।
आफ्ना विदेशमा रहेका केही साथीले सहयोग गर्न इच्छा व्यक्त गरेको भन्दै उनले अनलाइन डिपोजिट, ट्रान्सफर वा कनेक्ट आइपिएसको व्यवस्था गर्न सकिए थप प्रभावकारी हुने बताए ।
कोषमा राष्ट्रपति विद्या भण्डारी, सभामुख अग्नि सापकोटालगायतले योगदान गर्ने घोषणा गरिसकेका छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया