काठमाडौं ।
नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।
नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन । सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेका लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् ।
सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् ।
कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् ।
कस्ता एयरलाइन्स नेपाल आउन पाउँछन् ?
अन्तर्राष्ट्रिय उडानमा रोक लगाइए पनि आकस्मिक सेवासहितका एयरलाइन्सले भने नेपाल आउन पाउनेछन् । त्यस्तै, विदेशमा रहेका नेपालीको पनि उद्धार गर्न सकिने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए । उनका अनुसार नेपालमा अझै १० हजार विदेशी नागरिक रहेको अनुमान छ । सरकारले गत सातादेखि पर्यटक भिसामा आउन ५५ देशलाई रोक लगाएको छ ।
‘विदेशीलाई कुनै देशले खाली जहाज ल्याएर उद्धार गर्न पाउनेछन्,’ क्षत्रीले भने, ‘त्यस्तो उडान रोकिने छैन ।’ एयर एम्बुलेन्स, कार्गो उडानमा पनि रोक नलाग्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय सिजनमा दैनिक एक सय २० उडान–अवतरण हुने गरेको थियो । दैनिक १४ हजार हवाई यात्रुले सेवा लिने गरेका थिए ।नयाँ पत्रिकाबाट





























प्रतिक्रिया