कोरोना प्रभावित देशबाट निर्बाध उडान, आजदेखि विदेशबाट आउने सबै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

कोरोना प्रभावित देशबाट निर्बाध उडान, आजदेखि विदेशबाट आउने सबै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

केन्द्रबिन्दु
0
Shares

चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब दुई हजार यात्रु बाहिर गइरहेका छन् ।

बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन् । शुक्रबार नेपाल आएकामध्ये सात सय विदेशी हुन् । विदेशीमध्ये पनि तीन सय भारतीय हुन् । त्यस्तै, शनिबार तीन सय भारतीयसहित चार सय ५० विदेशी नेपाल आएका छन् । चीन, दक्षिण कोरिया, भारत, हङकङ, ओमान, मलेसिया, थाइल्यान्ड, जापान, साउदी अरब, कतार, युएईदेखि टर्कीबाट विमान आवतजावत गरिरहेका छन् ।

शनिबार मात्रै चीनको कुन्मिङबाट चाइना इस्टर्न तथा गोन्जाउबाट चाइना साउदर्न, हङकङबाट नेपाल एयरलाइन्स, सोलबाट कोरियन एयरलाइन्स, जापानको ओसाकाबाट नेपाल एयरलाइन्स, सिंगापुरबाट सिल्क एयर, बैंककबाट थाई एयर, क्वालालम्पुरबाट मालिन्दो तथा मलेसिया एयरलाइन्स, दोहाबाट कतार एयर, सारजाहबाट एयर अरेबिया, दुबईबाट फ्लाई दुबई, आबुधाबीबाट इत्तिहाद, मस्कटबाट ओमान एयर, कुवेतबाट जजिरा एयर, इस्तानबुलबाट टर्किस एयरलाइन्सले काठमाडौं उडान गरेका थिए ।

सीधै उडानमा रोक लगाउनेभन्दा पनि पर्यटक भिसामा कडाइ गराएर आवागमन रोक्ने नीति लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । ‘संसारभर गरिने अभ्यास नै यही हो, एयरलाइन्सको उडान नै बन्द गर्ने होइन,’ पोखरेलले भने । आइतबारदेखि सबै पर्यटक भिसा बन्द गरिएकाले केही दिनमै अधिकांश उडान बन्द हुनेसमेत पोखरेलले बताए ।

चीनको चाइना साउदर्नले सातामा तीनवटा उडान अझै जारी राखेको छ । चाइना इस्टर्नले पनि उडान जारी राखेको छ । कोरोनाबाट मुख्य प्रभावित देशकै सूचीमा पर्ने दक्षिण कोरियाबाट पनि कोरियन एयरले दैनिक उडान गरिरहेको छ । कतारले अन्य देशका पर्यटक आउन प्रतिबन्ध लगाएसँगै नेपाल एयरलाइन्सले उडान रोकेको छ । तर, कतार एयरवेजले भने काठमाडौंमा दैनिक दुई उडान जारी राखेको छ । सिंगापुरको सिल्क एयरले पनि दैनिक उडान जारी राखेको छ ।

साउदी अरबको एयर अरेबिया, मलेसियाको एयर मलेसिया र मालिन्दोले पनि उडान जारी राखेका छन् । फ्लाई दुबईले पनि दैनिक उडान जारी राखेको छ । ओमानबाट सलाम एयरले पनि दैनिक उडान जारी राखेको छ । त्यस्तै, भारतबाट इन्डिगो, एयर इन्डिया, भिस्तारा एयरले दैनिक उडान जारी राखेका छन् । नेपाल एयरलाइन्सले जापान, हङकङ र भारततर्फ उडान गरिरहेको छ । नेपालबाट हिमालय एयरलाइन्सले दमाम र मलेसिया उडान गरिरहेको छ ।

त्रिभुवन विमानस्थलमा दैनिक ८० देखि ८५ अन्तर्राष्ट्रिय उडान/अवतरण हुने गरेकोमा घटेर हाल ४० देखि ४५ अन्तर्राष्ट्रिय उडान भएका छन् । सामान्य अवस्थामा १३ हजार यात्रुले सेवा लिने गरेका छन् । अहिले करिब पाँच हजार यात्रु ओहोरदोहोर गरिरहेका छन् । मार्चको १४ दिनमा अर्थात् शनिबार दिउँसोसम्म ६८ हजार यात्रुले सेवा लिएको अध्यागमन विभागको तथ्यांक छ ।

यात्रु नपाएपछि अन्तर्राष्ट्रियतर्फ उडान गर्ने एयरलाइन्सले उडान संख्या भने कटौती गरेका छन् । एक महिनाअघि दैनिक चार उडान गर्दै आएको कतार एयरवेजले पछिल्लो समय दुई उडान संख्या घटाएको छ । साताको सात उडान गर्दै आएको थाई एयरवेजले चार उडान घटाइसकेको छ । साताको पाँच उडान गर्दै आएको ड्रागन एयरले पछिल्लो समय चार उडान गर्दै आएको छ । सिल्कले भने साताको सातै उडान गरिरहेको छ ।

साताको १४ उडान गर्दै आएका चीनको चाइना साउदर्नले पछिल्लो समय तीन उडान गर्दै आएको छ । चाइना इस्टर्नले साताको एउटा मात्र उडान गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

सरकारले शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । उनीहरूलाई विमानस्थलबाट सीधै क्वारेन्टाइनमा पठाइने महानिर्देशक राजन पोखरेलले जानकारी दिए । अनअराइभल भिसा दिन नै बन्द गरिएकाले अब विदेशीहरू आउने संख्या नै न्यून हुनेसमेत उनले बताए । त्यस्तै, विदेशबाट आउने नेपालीलाई घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्न भनिएको छ । नेपालीलाई पनि अत्यावश्यक काम तथा स्वास्थ्य रिपोर्ट देखाए मात्र नेपाल आउन पाउने भएकाले आइतबारदेखि नै सबै उडान प्रभावित हुनेछ । नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo