काठमाडौं ।
बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा शनिबार विशेष कार्यक्रम गरि मनाइएको छ । २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको बागमती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो ।

‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’ नारा दिएर बागमती सफाई शुरु भएपछि अहिले बागमती सफा र दुर्गन्ध रहित बनेको छ । आज (शनिबार) फोहोरमैला व्यवस्थापन संघले बागमती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् । यस्तै सरकारले बागमती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागिता जनाएकी कलाकार मनिषा कोइरालाले सबै नागरिकहरुलाई बागमती सफाइमा लाग्न आग्रह गरिन्। नदीमा मिसाइदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनु पर्ने बताइन्।

कलाकार आनी छोइङ डोल्माले पनि शरीरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन्। वातावरणीय हिसाबले पनि नदी सफा राख्नु पर्ने उनको भनाई छ । कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने बताइन् । मानिसहरुलाई कुनैपनि फोहोर नदीमा फाल्नु हुँदैन भन्ने शिक्षा दिनुपर्ने बताइन्। राज्यले पनि फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

बागमती सफाईको ४ सय हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिकस्तरबाट उल्लेख्य सहभागीता भएको छ ।

महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ । प्रत्येक शनिवार नागरिकहरु स्वतस्फूर्त रुपमा बागमती सफाइमा जुटेपछि अहिले बागमती नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ । यो अवधिमा नदी किनारामा बगैंचा निर्माण हुने रुख रोप्ने लगायतका काम भएका छन् । बागमती नदीको विभिन्न ठाउँमा २६ वटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

































प्रतिक्रिया