पूर्वसभासद् घिमिरेको भारतमा रहस्यमय मृत्यु

पूर्वसभासद् घिमिरेको भारतमा रहस्यमय मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापा।

तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट नेता धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । तीन दिन अघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेका थिए । वि.सं. २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।

उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए । भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् । रासस

Skip This
Skip This
Logo