राष्ट्रिय सभा सदस्य कस्लाई बनाउने भन्ने विषयमा नेकपाभित्र विवाद देखिएको छ । नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सदस्य बनाउने निर्णय गरेको पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले असहमति जनाएपछि विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओली वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः राष्ट्रिय सभा सदस्यमा दोहोर्याउने पक्षमा छन् भने अन्य सचिवालय सदस्यहरू उपाध्यक्ष बामदेव गौतमको पक्षमा छन् । सचिवालय बैठकको गरेकोे निर्णय प्रधानमन्त्रीले मान्न बाध्य हुन्छन् कि हुदैनन् यसबारे नेकपा स्थायी कमिटी सदस्य मणिचन्द्र थापासँग केन्द्रबिन्दुका सरोज बस्यालले ५ प्रश्न गरेका छन् ।
अब राष्ट्रिय सभा सदस्य को बन्छ ?
पार्टीमा अन्तरविरोध देखिएको छ । तत्काल कसलाई सदस्य बनाउने भन्ने दाबी गर्न सक्ने अवस्था छैन् । सचिवालयले गरेको निर्णयमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएको भन्ने आएको छ ।
सचिवालयको निर्णयमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउन मिल्छ ?
राष्ट्रिय सभा सदस्य पार्टीले भन्दा पनि मन्त्रिपरिषद्ले सिफारिस गर्ने हो । प्रधानमन्त्रीले यसमा असन्तुष्टि जनाउन स्वतन्त्र हुनुहुन्छ । किन भने प्रधानमन्त्री पार्टी अध्यक्ष पनि हो । पार्टी बैठकले सरकारलाई सुझाव मात्र दिएको हो । मान्ने नमान्ने भन्ने प्रधानमन्त्री कै हातको कुरा हो ।
प्रधानमन्त्रीले पेलेरै अगाडि बढे कस्तो अवस्था सिर्जना हुन्छ ?
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई नै सदस्यमा नियुक्त गर्नु भयो भने पनि पार्टीले केही गर्ने अवस्था आउँदैन । संवैधानिक व्यवस्थामा नै राष्ट्रिय सभा सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने स्पष्ट व्यवस्था छ । उहाँले निर्णय मान्नु भएन भने पार्टीभित्र अन्तरविरोध देखिन सक्छ तर पार्टीले प्रधानमन्त्रीलाई केही गर्न सक्ने अवस्था हुदैन ।
अर्थमन्त्रीको अबको भविष्य के ?
राष्ट्रिय सभा सदस्य कस्लाई बनाउने भन्ने विवाद हो । सचिवालय बैठकले गरेको निर्णयमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउनु भएको छ । प्रधानमन्त्री अर्थमन्त्रीलाई नै निरन्तरता दिने पक्षमा हुनुहुन्छ, उहाँले नै निरन्तरता पाउनु हुन्छ ।
राष्ट्रिय सभा सदस्य थप्ने कुरा के हो ?
राष्ट्रिय सभा सदस्य थप्ने विषयमा बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नु भएको हो । तर, बहुमतले अस्वीकृत गरेको कुरा आएको छ । पार्टी भित्र कुनै औपचारिक निर्णय भएको छैन।





























प्रतिक्रिया