दुई वर्षमा कानूनी र संरचनागत कार्यमा उल्लेख्य प्रगति : रक्षा मन्त्रालय

दुई वर्षमा कानूनी र संरचनागत कार्यमा उल्लेख्य प्रगति : रक्षा मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रालयले विगत दुई वर्षमा कानूनी र संरचनागत कार्यमा उल्लेख्य उपलब्धि हासिल गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले आफूले मन्त्रालयको कार्यभार सम्हालेको दुई वर्षमा सम्पादित मुख्य कार्यबारे जानकारी दिँदै राष्ट्रिय सुरक्षा नीति, २०७३ लाई पुनरावलोकन गरी नयाँ राष्ट्रिय सुरक्षा नीति मन्त्रिपरिषदबाट ०७५ साल चैत ४ गते जारी भएको बताए ।

यसैगरी उपप्रधानमन्त्री तथा रक्षा मन्त्रिस्तरीय निर्णय अनुसार राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गर्न समिति गठन भई समितिले कार्ययोजनालाई गत पुस २९ गते उपप्रधानमन्त्री समक्ष पेश गरिएको छ । उनले भने, “नयाँ राष्ट्रिय सुरक्षा नीति, २०७५ सँग सामञ्जस्य हुने गरी साविकको प्रतिरक्षा नीतिको मस्यौदालाई आवश्यक परिमार्जन गरी नयाँ नीति तयार गरिएको छ ।”

कानूनी र नीतिगत सुधारमा उपलब्धि सैनिक सेवा (पहिलो संशोधन) नियमावली, ०७५ सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृत भई वि.सं ०७५ असार २० को नेपाल राजपत्रमा प्रकाशित भएको छ । यसबाट द्वन्द्वकालमा वीरगति प्राप्त गरेका तथा दुर्घटनामा परेका नेपाली सेनाका सैनिकलाई उचित क्षतिपूर्ति र सुविधा प्रदान गर्न कानूनी आधार तयार भएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

सैनिक सेवा (दोस्रो संशोधन) नियमावली, ०७५ र सैनिक प्राविधिक सेवा नियमावली, ०७६ सरकारबाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ । सैनिक प्राड सेवा (पहिलो संशोधन) नियमावली, २०७६, सैनिक हवाई सेवा (पहिलो संशोधन) नियमावली, २०७६, र सैनिक विविध सेवा (पहिलो संशोधन) नियमावली, २०७६ नेपाल सरकार, मन्त्रिपरिषदबाट स्वीकृत भई गत माघ २० गतेको नेपाल राजपत्रमा प्रकाशित भएका छन् ।

उनले भने, “नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन हुने अध्यापन कार्यलाई समय सापेक्ष, गुणणस्तरीय एवं प्रभावकारी बनाइ शैक्षिकस्तर अभिवृद्धि गर्न ‘नेपाली सैनिक प्रतिष्ठान शैक्षिक अध्यापन कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।” राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारलाई व्यवस्थित गर्ने विधेयकको मस्यौदा तयार गरी संघीय संसदमा पेश गरिएकोमा यसैबीच नयाँ राष्ट्रिय सरुक्षा नीति, २०७५ जारी भएको सन्दर्भमा नेपाल कानून आयोगसँग समन्वय गरी एकीकृत राष्ट्रिय सुरक्षा विधेयकको मस्यौदा तयार गरिएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo