धनकुटा ।
सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि जिल्लाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ। गाउँपालिका भरिका जुनसुकै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए।
‘मधेस लगायत अन्य क्षेत्रमा बसाइँ जाने क्रममा कमी ल्याउँछ’ उनले भने ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ।’
कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि निर्देशिका बनाएको छ। अहिलेसम्म गाउँपालिकाभरिमा ८ जना नयाँ परिबार बसाइँ आएका छन् । नयाँ घरपरिवारले दुहुनो गाई माग्दै गाउँपालिकामा आवेदन दिइसकेका छन्।
नयाँ घरपरिवारलाई प्रतिगाई खरिदमा अधिकतम ६१ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईले बताए। उनका अनुसार बसाइँ आउने परिवारले गाउँपालिकामा निवेदन, बसाइँ सराइ प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिसपत्र पशुपक्षी शाखामा बुझाउनुपर्छ।
सबै प्रक्रिया पूरा भएपछि दुहुनो गाई उपलब्ध गराइन्छ। बसाइँ आएर कम्तीमा तीन महिना बसोबास गरेपछि मात्रै दुहुनो गाई दिनयोग्य हुने अध्यक्ष लिम्बूले बताए।
अन्नपूर्णबाट





























प्रतिक्रिया