हेटौँडा ।
वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा-धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस सञ्चालन गर्न लागेको हो ।
प्रदेश सरकारले ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको जनाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतिय बसको सञ्चालनले प्रदेशलाई समृद्ध बनाउने बताए । उनका अनुसार प्रदेश सरकारले यस्ता गौरवका योजना छिटो नै सम्पन्न गरेर समृद्ध प्रदेश निर्माण गर्नेछ । उनले सरकारले दुई वर्षभित्र समृद्धितर्फ जाने गौरवका योजनाको डिपिआर बनिसकेको र अबका वर्षमा तीव्रताका साथ निर्माण गरिने बताए ।
विसं २०७७ भित्र प्रदेशमा विद्युतिय बस सञ्चालन गर्न सरकारले प्रदेश सभा सदस्य दीपक निरौलाको संयोजकत्वमा भौतिक योजना मन्त्रालय अन्तर्गत विद्युतीय सवारी साधन सरसफाइ सामग्री खरिद सहजीकरण समिति बनाएर कामलाई तीव्रता दिएको जनाइएको छ । फागुन दोस्रो हप्ताभित्र बिजुली बस खरिदका लागि ग्लोबल टेन्डर खोल्ने तयारी भइरहेको संयोजक निरौलाले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयलाई प्रतिवेदन बुझाउने बित्तिकै विद्युतिय बस खरिद गर्न ग्लोबल टेन्डर निस्किने छ । प्रदेश मन्त्रिपरिषद्ले दुई महिनाअघि प्रदेश यातायात निगम गठन सम्बन्धमा सङ्घीय सरकारलाई अनुरोध गरिसकेको उनले जानकारी दिए। निरौलाका अनुसार सङ्घीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेशसभामा पेश हुनेछ । बिजुली बस हेटौँडा–नारायणगढ–काठमाडौँ हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।
समितिले फागुन ६ गतेसम्म प्रदेशको भौतिक योजना मन्त्रालयलाई विद्युतिय बस सञ्चालन सम्बन्धी प्रतिवेदन दिने संयोजक निरौलाले जानकारी दिए । प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेशनलगायत विषय समेटिने र समितिअन्तर्गत दुईवटा उपसमिति गठन गर्दै बिजुली बस सम्बन्धमा छलफल भइरहेको उनको भनाइ छ ।
रासस





























प्रतिक्रिया