महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ ।

समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवर्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा रहेका हिन्दू धर्मसँग सम्बन्धित संस्थालाई पनि पत्राचार गर्न लागिएको जानकारी दिए ।

“विशेषगरी भारतका हिन्दू धर्मसँग सम्बन्धित संस्थाका प्रतिनिधि महाशिवरात्रिमा सहभागी गराइनेछ, ती संस्थालाई भ्रमण वर्ष सचिवालयले पत्राचार गर्नेछ, यसका लागि पशुपति क्षेत्रमा विशेष सफाइ गर्नुपर्नेछ, शौचालयमा पानीको व्यवस्थालगायत तयारी गर्न कोषलाई निर्देशन दिइएको छ”–उनले भने ।

पशुपतिनाथ विश्वस्तरमै पहिचानको केन्द्र भएकाले यहाँ पर्यटक भित्र्याउन भ्रमण वर्षको अवसरमा प्रचारप्रसार गरिने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले जानकारी दिए । कोषको सदस्य सचिव डा प्रदीप ढकालले यसवर्ष पनि महाशिवरात्रिमा पशुपति प्रवेशका लागि पासको व्यवस्था नगरिएको जानकारी दिए ।

महाशिवरात्रिमा पशुपति आउने साधु सन्तको खानपानको व्यवस्थाका लागि गुठी संस्थान र अन्नपूर्ण भण्डारलाई जिम्मेवारी दिइएको उनले कार्यक्रममा जानकारी दिए। “भ्रमण वर्षसँग जोडेर यस वर्षको महाशिवरात्रि पर्व मनाउने तयारी गरिएकाले फागुन ६ गते बिहान प्रचारप्रसारका लागि राजधानीमा प्रभातफेरी आयोजना गर्न लागिएको छ, महाशिवरात्रिका दिन फागुन ९ गते रुद्रगाडेश्वरमा कोषका तर्फबाट विशेष पूजा आराधना गरिनेछ, महाशिवरात्रिलाई नै ध्यान दिएर आइतबारदेखि पशुपतिमा नमस्कार अभियान चलाइने छ”,मूलसमारोह समितिको समेत सदस्य सचिव रहेका डा ढकालले भने ।
रासस

Skip This
Skip This
Logo