कोरोना भाइरसको त्रास : चीनका नेपाली विद्यार्थीद्वारा आफूहरुलाई स्वदेश फर्काउन आग्रह

कोरोना भाइरसको त्रास : चीनका नेपाली विद्यार्थीद्वारा आफूहरुलाई स्वदेश फर्काउन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन् ।

अमेरिका लगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख व्यक्त गरे। बेइजिङस्थित नेपाली दूतावासले ‘ग्रुप च्याट’मा नेपालीको स्वास्थ्य अवस्थाबारे डाटा संकलन गरेर नेपाल सरकारलाई बुझाउने बाहेक अरू केही काम नगरेको उनीहरूको भनाइ छ । नेपाल सरकारले पनि ‘ब्रिफिङ क्याफे’ (जानकारी लिनेदिने) मात्रै गरिरहेको आरोप उनीहरूको छ।

उनीहरूले नेपालले पनि कमसेकम चीन सरकारसँंग वार्ता गरी आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए । ‘हामीलाई ब्रिफिङ क्याफेको सुविधा मात्रै दिइएको छ,’ वुहानस्थित होचाङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा विद्यावारिधि गर्दै गरेका दिगम्बर खोटेजाले भने, ‘हामीलाई यस्तो सुविधा त विश्वविद्यालयले नै दिइरहेको छ।’

उनका अनुसार बेइजिङस्थित दूतावासका अधिकारीहरूले हटलाइन टेलिफोन नम्बर प्रदान गर्नेलगायत सुविधा दिइरहेका छन्। त्यहाँंका नेपाली विद्यार्थी विगत नौ दिनदेखि एक्लाएक्लै कोठामा बसी क्वारेन्टाइनमा छन् । सीमित घेरामा मात्रै बसेर सबैजना सुरक्षाका लागि सर्तक अवस्थामा छन् । बाहिर जानु परिहाले सुरक्षाका लागि मास्क लगाएर सीमित ठाउँंमा मात्रै जाने गरिरहेका छन् । त्यसका लागि विश्वविद्यालयले नै मास्क दिने गरेको छ। विश्वविद्यालयभित्रै खानेकुरा खरिद गर्ने प्रबन्ध मिलाइएको उनको भनाइ छ। मानिस बाहिर ननिस्केका कारण त्यहाँका सडक सुनसान छन्।
नागरिकबाट

Logo