राजधानीको सुरक्षा व्यवस्थामा थप सतर्कता

राजधानीको सुरक्षा व्यवस्थामा थप सतर्कता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा विप्लव समूहले राजधानीलाई निशाना बनाउन शुरू गरेपछि सरकारले राजधानीको सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको छ।

ललिता निवास प्रकरणमा जोडिएका शोभाकान्त ढकालको काठमाडौंस्थित ठूलो भर्याङमा रहेको घरमा बम विस्फोट गराएपछि उनीहरूको सक्रियता राजधानीमा बढेको निष्कर्ष निकाल्दै प्रहरीले राजधानीको सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको हो।

सुरक्षा निकायले अहिले सिंहदरबारको सुरक्षा व्यवस्था अझै मझबुत बनाएको जनाएको छ। सिंहदरबार वरिपरि २४ सै घन्टा प्रहरी तैनाथ गरिएको छ भने विभिन्न गण तथा गुल्मबाट थप प्रहरी परिचालन गरी राजधानीमा सुरक्षा व्यवस्था मझबुत बनाउँदै लगेको प्रहरीले दाबी गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नियमित चेकजाँचलाई थप कडाइ गरिएको र २४ सै घन्टा राजधानीमा प्रहरीको उपस्थितिलाई बढाइएको जानकारी दिए ।

प्रहरीले उक्त बम विस्फोटपछि ठाउँ–ठाउँमा छापा मारेर १ सयभन्दा बढी संख्यामा रहेका व्यक्तिलाई पक्राउ गरेको छ। विप्लव समूहको गतिविधि हुने क्षेत्रलाई पहिचान गरी छापा मारिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

अहिले नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र उपत्यकाभर रहेका प्रहरी कार्यालयबीच समन्वय गरेर आशंकित क्षेत्रमा खानतलासी गर्ने, शंकास्पद गतिविधिमा संलग्न रहेकाहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने काम भएको पनि एसएपी सुवेदीले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo