हेटौँडा ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशले स्थायी राजधानी र नामकरण ढिलो भए पनि प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
प्रदेश राजधानी र नामकरणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री पौडेलले सिङ्गो नेकपा तथा प्रदेशका नेकपाका सदस्य, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रदेशसभामा सहभागी दल नेमकिपा, राप्रपालगायत सबै दलको साथ सहयोग प्राप्त भएको बताए । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी हेटौँडा तोकिनु मकवानपुर वा हेटौँडाका लागि भन्दा पनि प्रदेशवासी सबैका लागि खुशीको कुरा भएको बताए । “आजको घोषणाले हेटौँडावासीलाई बढी उत्साहित बनाएको हुन सक्छ त्यो स्वाभाविक पनि हो, यसमा खुशी हुनु पनि पर्छ तर धेरै उच्छृङ्खल हुनु हुँदैन”, उनले भने ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको राजधानी हेटौँडा बनाइनु पर्ने पक्षमा प्रदेशसभाका सबै सदस्यको मत रहेछ भन्ने देखिएको बताए । उनले हेटौँडा प्रदेशको ऐतिहासिक स्थान हो, थियो र अझै पनि रहेछ भन्ने कुरा आजको नतिजाले देखाएको बताए ।
प्रदेशको राजधानी हेटौँडा भएकामा नेकपा नेता तथा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले खुशी व्यक्त गरे । सभापति दाहालले हेटौंडा राजधानी घोषणा भएसँगै जनमानसको अन्योल समाप्त भएको बताउँदै भने, “अब हेटौंडालाई महत्वपूर्ण अवसर प्राप्त भएको छ । सबैको सामूहिक प्रयासको सफलता हो यो, हामी सबै मिलेर आगामी दिनमा हेटौँडालाई राजधानीलायक बनाउन धेरै काम गर्न बाँकी छ ।” संविधानसभा सदस्य अनन्त पौडेलले प्रदेशको राजधानी हेटौँडा तोकिनु मकवानपुरवासीका लागि ठूलो उपलब्धि भएको बताए ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११० सदस्यमध्ये एक जनाले संसदमा उपस्थिति जनाएनन् । सभामुखबाहेक १०८ प्रदेशसभा सदस्य प्रदेशको नामकरणका लागि भएको मतदानमा सहभागी भएका थिए । सबै सदस्यले प्रदेशको नाम वाग्मती राखियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गरेका थिए । हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका लागि भएको मतदानमा हेटौँडाको पक्षमा १०५ र विपक्षमा तीन मत परेको थियो । काभ्रेको धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावका पक्षमा तीन र विपक्षमा १०१ मत परेको थियो । काभ्रेका चार प्रदेशसभा सदस्यले धुलिखेललाई प्रदेशको स्थायी राजधानी बनाइयोस् भन्ने प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत जाहेर गरेका थिएनन् ।
रासस





























प्रतिक्रिया