प्रथम क्यानोनिङ महोत्सवले भ्रमण वर्षलाई सहयोग गर्छ : मन्त्री अर्याल

प्रथम क्यानोनिङ महोत्सवले भ्रमण वर्षलाई सहयोग गर्छ : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

वालिङ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रथम क्यानोनिङ महोत्सवले भ्रमण वर्षलाई सहयोग र स्वागत गरेको बताएकी छिन् ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरी कार्यक्रमहरु अगाडि बढाइरहेको बेला स्याङ्जाको वालिङ–४ एलादी खाल्टेमा प्रथम क्यानोनिङ महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले पोखरा र लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँसम्म ल्याइ पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

“पर्यटन र कृषिका दृष्टिले महत्वपूर्ण रहेको यस ठाउँका सम्भावनालाई उजागर गरी विकास गर्नुपर्छ”,अर्यालले भनिन् “पोखरा र लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि झरना तथा होमस्टे रोजाइको केन्द्र बन्ने छ ।” ग्रामीण ठाउँमा लुकेर रहेका पहिचानको प्रचारप्रसार र त्यसको संरक्षण गर्दै अगाडि बढ्न आग्रह गर्दै अर्यालले यहाँको पहिचानका रुपमा रहेको सुन्तला बगैँचा तथा क्यानोनिङको विस्तृत गुरुयोजना बनाउनु आवश्यक रहेको बताइन् ।

मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै कृषि र साहसिक खेल क्यानोनिङलाई दीगो पर्यटन उद्योगकोरुपमा स्थापित गर्दै भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न महोत्सवको आयोजना गरिएको क्यानोनिङ तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष मोहन खनालले बताए ।

चार दिनसम्म सञ्चालन हुने महोत्सवमा ३५ र ३० मिटरका दुई वटा झरनामा क्यानोनिङको व्यवस्था मिलाइएको छ भने सुन्तलै सुन्तलाले भरिएको सुन्तलाबारी घरवासमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले बताएको छ ।
रासस

Logo