सिद्धबाबाका आरोपलाई प्रमाणित गर्ने दुई फरक प्रमाण फेला

सिद्धबाबाका आरोपलाई प्रमाणित गर्ने दुई फरक प्रमाण फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा हनुमान मन्दिर आश्रमका सिद्धबाबा कृष्णबहादुर गिरीलाई कानुनी धरातल बेगर धरौटीमा छाडेको भेटिएको छ । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने दुई फरक प्रमाण हुँदासमेत इजलासले धरौटीमा छाड्ने आदेश गरेको हो ।

साधनाका लागि भनेर आश्रममा बोलाएका गिरीले आफूलाई बलात्कार गरेको भनी एक पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यही उजुरीमाथिको अनुसन्धानपछि प्रहरीले दायर गरेको मुद्दाको सुनुवाइपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो तर आदेशका क्रममा लिइएका आधार र व्याख्याले न्यायाधीशलाई नै प्रश्नको घेरामा पारेको छ । अनुसन्धानका दौरान अपराधपीडितलाई संरक्षण गर्नुपर्ने प्रहरीले समेत हैरान पारेको र मुद्दा कमजोर बनाएको प्रमाण फेला परेको छ ।

यो कुरा कसैलाई नभन्नू

सोलुखुम्बुको साबिक जुबु गाविस स्थायी ठेगाना भएका चतरा बस्ने सिद्धबाबा रामकृष्णाचार्य वैष्णव कृष्णदास भनेर चिनिन्थे । उनले नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जरमा कल गरे । ती भक्त महिलाले रेस्पोन्स नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएका बेलामा चुप किन  ?’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गइन् । पीडितको किटानी जाहेरीमा उल्लेख गरेको विवरण अनुसार सिद्धबाबाले आफ्नो कक्षमा लगेर ती महिलालाई ‘आफूले भने अनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाई बलात्कार गरे । त्यसपछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नू, भने अनिष्ट हुन्छ’ भनेर फेरि धम्क्याए ।

घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किइन् । केही सातापछि श्रीमानले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण देखे जहाँ ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख थियो । अनि उनले सबै यथार्थ श्रीमानलाई बताइन् । श्रीमानको अग्रसरतामा ती महिलाले प्रहरीमा किटानीजाहेरी दिइन् ।

किटानी जाहेरीपछि प्रहरीले सिद्धबाबालाई पक्राउ गरी बयान लियो । आरोप अस्वीकार गर्दै बयानमा उनले भनेका छन्, ‘म त्रिदण्डधारी साधु संन्यासी हुँ । मैले अग्नि र स्त्रीलाई स्पर्शसमेत गर्नु हुँदैन ।’ सिद्धबाबाकै दाबी अनुसार एक वर्षदेखि एकोहोरो म्यासेज गरेको अनि शिष्य र भक्तजनले समेत आग्रह गरेको हुनाले एकपटक फोनमा कुरा गरेका हुन् । भोला बराल भन्ने व्यक्तिको फोनबाट भएको कुराकानीमै सिद्धबाबाले ‘मबाट एक पटक गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हुँदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेका थिए । उक्त कल रेकर्ड सिद्धबाबाकै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो । प्रहरीले बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । त्यही मुद्दामा जिल्ला न्यायाधीश उप्रेतीले सिद्धबाबालाई धरौटीमा छाड्ने विवादास्पद आदेश गरेका हुन् ।

‘अनौठो’ आदेश

अपराधशास्त्रीका अनुसार बलात्कारजस्ता घटनामा अपराधीले अरूले थाहा नपाउने गरी गोप्य स्थान छनोट गरेका हुन्छन् भने सकेसम्म आफूलाई त्यस सम्बन्धी प्रमाणबाट अलग गर्छन् । त्यसैले यस्तो घटनामा पीडितलाई नै प्रमाणका रूपमा ग्रहण गरिन्छ र अन्यथा प्रमाणित नभएको अवस्थामा पीडितको भनाइ प्रमुख प्रमाण मानिन्छ । अन्य प्रमाणले समेत घटना पुष्टि गरिसकेको अवस्थामा न्यायाधीश उप्रेतीले धरौटीमा छाडेको आदेशलाई अनौठो रूपमा हेरिएको छ ।

जिल्ला अदालत स्रोतबाट प्राप्त मिसिलको फोटोकपीमा उक्त बलात्कारको घटना पुष्टि गर्ने कम्तीमा चार फरक प्रमाण छन् । पीडितले सिद्धबाबाको नाम किटान गरेकी छन् भने अर्कोतर्फ घटना हुनुअघि सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पुष्टि भएको छ । पीडित त्यस दिन आश्रम गएको पनि प्राविधिक परीक्षणबाट पुष्टि भएको छ ।
कान्तिपुरबाट

Logo