मन्त्रीहरूको गतिविधिमाथि प्रधानमन्त्रीले बढाए निगरानी

मन्त्रीहरूको गतिविधिमाथि प्रधानमन्त्रीले बढाए निगरानी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई आगन्तुक र कार्यकर्तालाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको कामभन्दा भेटघाटको क्रमलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘केही मन्त्रालयका मन्त्रीहरूले कामै छाडेर कार्यकर्ता र आगन्तुक भेट्ने कार्यलाई बढाएको देखिएको छ, त्यस्तो कार्य छोडेर काममा खट्नुस् ताकि परिणाम छिट्टै देखिन सकोस्,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सचेत पार्दै भने । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरू सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्ने बताए । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कामप्रति आफ्नो संयन्त्रमार्फत निगरानी बढाउँदै आएको स्रोतले जानकारी दिएको छ । निगरानीका क्रममा हालै थप गरिएका मन्त्रीहरूले कार्यकर्ता भेटघाटलाई तीव्रता दिँदा मन्त्रालयको काममा असर परेको पाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि मन्त्रालयको कामबारे नियमित रूपमा र्‍याकिङ भइरहेको स्पष्ट पारेको छ । मन्त्रालयको र्‍याकिंङबाट मन्त्रीको कामको बारेमा प्रधानमन्त्रीले नियमित जानकारी लिइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले केही समय अघि मात्रै मन्त्रिमण्डल हेरफेर गरी नयाँ मन्त्रीहरू ल्याएका थिए । विशेषगरी नयाँ थपिएका केही मन्त्रीहरूले कामलाई भन्दा कार्यकर्ता र आगन्तुक भेट्ने क्रमलाई निरन्तरता दिएको भन्दै प्रधानमन्त्री ओलीसमक्ष गुनासो पुगेको थियो । त्यस्तो गुनासो आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीलाई सचेत पारेका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै जसो मन्त्रालयले गर्दै आएको कार्यबारे दुई÷दुई महिनामा प्रगति विवरण तयार पार्दै आइरहेको छ । मन्त्री र मन्त्रालयले गरेको कामको आधारमा प्रधानमन्त्री कार्यालयले मन्त्रालयको ¥यांकिङसमेत गर्दै आएको छ । यसअघि प्रधानमन्त्री कार्यालयले गरेको ¥याकिङमा धेरै मन्त्रालयको नतिजा कमजोर आएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयको नतिजा बढाउनेगरी जिम्मेवार भएर काम गर्नसमेत सबै मन्त्रीहरूलाई आग्रह गरे ।-राजधानी

Logo