सभामुख र एमसीसीबारे नेकपामा अझै अन्योल

सभामुख र एमसीसीबारे नेकपामा अझै अन्योल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विषयमा निर्णय गर्न सकेको छैन । नेकपाभित्र सभामुख र एमसीसी सम्झौता विषयमा विवाद चर्किंदै गएको भए पनि त्यसबारेमा कुनै निर्णय हुन सकेको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच यस विषयमा पटकपटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले समेत सभामुख र एमसीसीबारे कुनै निर्णय गर्न सकेन । पार्टीभित्र सभामुखका लागि नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुषालसहित हालका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले दाबी प्रस्तुत गर्दै आएका छन् ।

नेकपा महासचिव विष्णु पौडेलले सभामुख र एमसीसीबारे बैठकमा केही निर्णय नभएको बताए । नेताहरूले दाबी गरे पनि त्यस विषयमा टुंगो लगाउन अझै प्रयास जारी रहेको नेकपाले जनाएको छ । नेकपाभित्र सभामुखको उम्मेदवारको विवादकै कारण ४ पुसबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन स्थगित भएको थियो । गत शुक्रबार बसेको संसद् बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो । अर्को बैठक १६ पुसमा बोलाइएको छ । तर, पनि सत्तारूढ नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

यस्तै, एमसीसी सम्झौताबारे स्थायी कमिटी बैठकमै नेताहरू दुई धारमा विभाजित भएपछि त्यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको थियो । तर सचिवालय बैठकले समेत एमसीसी सम्झौताबारे निर्णय गर्न सकेको छैन । बैठकमा २३ पुसमा बस्ने पार्टी केन्द्रीय कमिटी बैठकबारे समेत छलफल भएको छ । नेकपा एकताको २० महिनापछि बस्न लागेको बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे छलफल भएको छ ।
राजधानीबाट

Logo