राष्ट्रिय झन्डा अङ्कित रेल एक महिनामै नेपाल आउँदै

राष्ट्रिय झन्डा अङ्कित रेल एक महिनामै नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न भने बाँकी छ ।

रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ । अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन । जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो ।

पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिए । नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ ।

प्रवक्ता चित्रकार भन्छन्, “दुइ वटा मध्ये एउटा रेल जनवरीभित्र आइपुग्ने निश्चित भएको छ । अर्को रेल फेब्रुअरीभित्र आउँछ तर नेपालको तयारी भने केही पनि छैन । कसले चलाउने, कुन मोडलमा चलाउने, सम्बन्धित प्राविधिक जनशक्ति र कर्मचारी कहाँबाट ल्याउने भने कुरा थाहा छैन । ” रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापनका कार्यहरू प्रक्रियामा रहेको बताउँदै उनले भने, “नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्तिको अभाव छ । उक्त रेल सञ्चालन गर्न आवश्यक ‘मेनपावर आउट सोर्सिङ’ गरी उपलब्ध गराउनेतर्फ काम भइरहेको छ । ”

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कर्थादेखि बिजुलपुरादेखि रेल सञ्चालनमा ल्याउने छ । ३४ किलोमिटर दूरी रहेको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि आवश्यक लिक निर्माणको काम सम्पन्न भइसकेको छ । कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किलोमिटर छ । जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटरको दूरीमा रेलसेवा सञ्चालन गर्ने योजना सरकारको छ ।
गोरखापत्रबाट

Logo