भक्तपुर, २०७६ मंसिर २६ ।
विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्वार शुरु भएको छ ।
भूकम्पले क्षति पु¥याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्वार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण कार्य अन्तर्गत उपभोक्ता समिति गठन गरि मन्दिरको जीर्णोद्वार शुरु गरेको नगरपालिकाले जनाएको छ ।
भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पुगेपछि भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाले निर्णय गरी ६५ लाख १३ हजार ३५८ को लगत इस्टिमेट तयार गरेर जीर्णोद्वार शुरु गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
वि.सं १९९० को भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामै क्षति पुगेको थियो । यसअघि तत्कालीन राजा महेन्द्र शाहले २०१९ मा र नगरपालिकाले २०५६ मा उक्त मन्दिरको जीर्णोद्वार गरेको नगरपालिका सम्पदा शाखाले जनाएको छ । अघिल्लो वर्ष पाँचतले मन्दिर अगाडिको तौमढी क्षेत्रकै भैरवनाथ मन्दिरको जीर्णोद्धार गरेको थियो भने यो वर्ष न्यातापोल मन्दिरको संरक्षण शुरु गरेको हो ।
मन्दिर संरक्षण तथा जीर्णोद्वार उपभोक्ता समितिले आउँदो असार मसान्तभित्र जीर्णोद्वार सम्पन्न गर्ने लक्ष्य लिएको समितिका अध्यक्ष केशव तमखुले जानकारी दिनुभयो । भूकम्पको धक्काले झिँगटी छुट्टिएपछि पानी चुहिने समस्या छ ।
नेपाल संवत् ८२२ मा भूपतिन्द्र मल्लले निर्माण गर्नुभएको १०८ फिट अर्थात् ३३ दशमलव २३ मिटर अग्लो मन्दिर वास्तुतन्त्र विधि अनुरुप बनेको छ । मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतीकसमेत मानिन्छ भने मन्दिर निर्माण सकेर नेपाल संवत् ८२२ असार सुदी १ मा टुप्पोमा गजूर राखेको प्रमाण फेला परेको नगरपालिकाको अभिलेखमा छ ।





























प्रतिक्रिया