केन्द्रविन्दु संवाददाता । काठमाडौँ, मंसिर २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक विहिबारदेखि पार्टी कार्यालय सानेपामा बस्दै छ । विहिबार अपरान्ह १ बजे शुरू हुने भनिएको बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, भ्रातृ संगठनहरूको नेतृत्व, कालापानी लगायत सीमा अतिक्रमणजस्ता विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यसका साथै पार्टीको चौधौं महाधिवेशनका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
केन्द्रीय सदस्य प्रदिप पौडेलले बैठकमा आफूहरूले मंसिर मसान्तसम्म महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न आवाज उठाउने बताए । कांग्रेसभित्र महाधिवेशन गर्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीच विवाद हुँदै आएको छ । कांग्रेसलाई सच्याउन र अझ गतिशिल रूपमा अघि बढाउन महाधिवेशन अपरिहार्य भएको भन्दै केन्द्रीय सदस्य पौडेलले जतिसक्दो छिटो महाधिवेशन सम्पन्न गराउन नेतृत्वलाई दवाब दिने बताए ।
पार्टीको विधानअनुसार आगामी फागुनभित्रै गर्नुपर्ने नियमित महाधिवेशन गर्न नसक्ने अवस्था उत्पन्न भए पनि महाधिवेशनको मिति धेरै लम्ब्याउनु नहुने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको अडान छ । यता पार्टी सभापति शेरबहादुर देउवा भने पार्टी विधानले दिएको १ वर्ष लम्ब्याउने अवसरलाई उपयोग गर्ने सोचमा छन् । १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको ४ वर्षे अवधि आगामी फागुनमा सकिंदै छ ।
पार्टी विधानको दफा ४३ ले असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि लम्ब्याउन सक्ने प्रावधान गरेको छ । यस्तै संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गरिसक्नुपर्ने प्रावधान उल्लेख छ । संविधानले विशेष परिस्थितिमा ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । संविधानको यही प्रावधानलाई टेकेर आफ्नो पदावधि डेढ वर्ष लम्ब्याउन खोजेको आरोप सभापति देउवामाथि लाग्ने गरेको छ ।
विहिबारदेखि हुने केन्द्रीय समिति बैठकमा उपनिर्वाचनका विषयमा समीक्षात्मक छलफल हुनेछ । कांग्रेसले उपनिर्वाचनको मूल्याङ्कनका लागि केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो । ती केन्द्रीय सदस्यहरूले आफूले गरेको उपनिर्वाचनको समीक्षा बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
साथै नेपाल विद्यार्थी संघ (नेविसंघ), तरूण दल लगायतका भ्रातृ संगठनको नेतृत्वका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । नेपाल विद्यार्थी संघको कार्यसमिति छनौटका लागि कांग्रेसको कार्यसमितिले यसअघि नै सभापतिलाई जिम्मेवारी दिए पनि हालसम्म छनौट हुन सकेको छैन । विहिबारदेखि शुरू हुने बैठकमा त्यसबारे पनि केन्द्रीय सदस्यहरूले प्रश्न उठाउने बुझिएको छ । यस्तै लामो समयदेखि गठन हुन नसकेका विभागहरूको सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
केन्द्रीय समिति बैठकको तयारीका लागि बुधबार अपराह्न पदाधिकारीहरूको बैठक बस्दै छ । बैठकमा विहिबारदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ ।































प्रतिक्रिया