काठमाडौं, २०७६ मंसिर २३ ।
एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि शुरु भएको छ । गैरसरकारी संस्था महासङ्घको संयोजकत्वमा शुरु भएको महाभेलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले उद्घाटन गरेर प्रारम्भ गर्नुभएको हो । मन्त्री गुरुङले सरकार मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्न सदा तयार रहको बताउनुभयो ।
“मुलुकमा मानव अधिकारको संरक्षणका लागि सरकार सबैसँग सहकार्य गरेर अघि बढ्छ, सरकार सदा लोकतन्त्र र मानव अधिकारको संरक्षणमा प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “मानव अधिकार र नागरिकको अधिकारकै लागि सरकारले काम गर्छ, त्यसैमा विश्वास गर्छ ।” उहाँले सरकारलाई पनि समय समयमा रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएर नयाँ संविधान जारी हुनुमा हर्ष भए पनि मन, वचन र कर्ममा भने कुनै परिर्वतन आउन नसकेको बताउनुभयोे । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतराम लामाले मानव अधिकारको रक्षा गर्नका लागि ११ वर्षदेखि निरन्तर एकताबद्ध भएर महाभेला गर्न लागेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
नेपाल संयुक्त राष्ट्रसङ्घ मानव अधिकार घोषणा पत्रको पक्षराष्ट्र भएदेखि हरेक वर्ष डिसेम्बर १० तारिखका दिन मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपालमा पनि राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्तरराष्ट्रिय नियोगलगायत सङ्घसंस्थाले सन् २००९ देखि राष्ट्रियरुपमा मानव अधिकार राष्ट्रिय महाभेला उत्सवका रुपमा मनाउन शुरु गरेको छ ।
यस वर्ष मङ्सिर २२ देखि २९ (डिसेम्बर ८ देखि १५ ) गतेसम्म ११ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको संयोजन गैसस महासङ्घ नेपालले गरेको छ भने २०० भन्दाबढी मानव अधिकार सङ्घसंस्थाको संयुक्त आयोजनामा पहिलोपटक ७७ जिल्ला, सात प्रदेश तथा सङ्घीय राजधानी काठमाडौँमा एकैपटक एक हप्तासम्म विभिन्न कार्यक्रमका साथ मनाउने तय भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै तहमा युवाको प्रभावकारी सहभागिता रहनुपर्ने तथा लक्ष्य प्राप्त गर्ने आधार सबैका लागि सबै मानव अधिकार हुने कुरामा जोड दिँदै यस वर्ष महाभेलाको नारा ‘दिगो विकासको आधार, सबैका लागि मानव अधिकार’ नारा तय गरिएको छ ।
मानव अधिकार सम्मान दासलाई
राष्ट्रिय मानव अधिकार महाभेलाका अवसरमा यस वर्षको ‘राष्ट्रिय मानव अधिकार सम्मान पुरस्कार’ मानव अधिकारकर्मी डा गौरीशङ्रलाल दासलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि २० हजार रहेको छ ।
त्यस्तै, ‘पद्यरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार’ मानव अधिकारकर्मी डा मथुरा श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ५० हजार रहेको छ । ‘शान्तालक्ष्मी श्रेष्ठ महिला राष्ट्रिय मानव अधिकार पुरस्कार’ मानव अधिकारकर्मी गङ्गा कशजुलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि २० हजार रहेको छ । उक्त पुरस्कार मन्त्री गुरुङले प्रदान गर्नुभएको थियो ।































प्रतिक्रिया