काठमाडौं, २०७६ मंसिर २३ ।
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले न्यायिक समितिको अधिकार क्षेत्र मिचेर आफैं मुद्दा फैसला गर्ने गरेका छन् । संविधानले स्थानीय तहको एकल अधिकार क्षेत्रका मुद्दा हेर्न न्यायिक समितिलाई अधिकार दिइएको छ। तर महानगर प्रमुख र प्रशासकीय अधिकृतलगायतले न्यायिक समितिको अधिकार मिच्दै छुट्टै इजलास राखेर मुद्दा हेर्ने गरेको पाइएको छ।
‘हाम्रोमा माथिल्लो तलामा न्यायिक समितिको इजलास बस्छ,’ कार्यालयका एक कर्मचारीले भने, ‘यही भवनको भुइँतलामा प्रमुख र प्रशासकीय अधिकृतको इजलास बस्छ। प्रमुखबाट हेरिने इजलासमा समेत पक्ष/विपक्ष बनाएर बहस गराएर हेरिन्छ।’ पूरै अदालतकै जस्तो प्रक्रिया हुने उनले बताए। विवादित बाटो छुट्याइ पाऊँ, सार्वजनिक जग्गामा अनधिकृत रूपमा संरचना भत्काइ पाऊँ भनी दर्ता भएका मुद्दाको विवाद निरुपण गर्ने भन्दै मेयरले आफैं इजलास राखेर फैसला गर्ने गरेका छन्। यी विषय स्थानीय सरकार सञ्चालन ऐन २०४७ ले समेत न्यायिक समितिलाई मेलमिलाप गराउन अधिकार दिएको छ ।
मेयर शाक्यले गरेका निर्णय काठामाडौं जिल्ला अदालतले समेत क्षेत्राधिकार बाहिरको निर्णय भनी पटक–पटक बदर गरेको छ। कानुनले न्यायिक समितिलाई दिएको अख्तियारी ग्रहण गरी क्षेत्राधिकारबाहिर गई निर्णय गरेकोे ठहर गर्दै अदालतले निर्णय बदर गरेकोे थियो। यसरी प्रमुखबाट भएका निर्णय अदालतले पटक–पटक बदर गर्दासमेत शाक्यले मुद्दा हेर्न छाडेका छैनन्।
महानगरको तथ्यांक अनुसार ०७४/७५ मा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमक्ष एक सय दुई वटा उजुरी दर्ता भएका थिए। दायित्व सरी आएका भनी २ सय २१ मुद्दा राखिएको छ। जसमध्ये मेयरबाट निर्णय भएका ४७, आदेश भएका ३४, नक्सा पास सम्बन्धी जरिवाना भएका ४१, मिलापत्र भएका १५ वटा छन्।
त्यस्तै, प्रशासकीय अधिकृतबाट निर्णय भएका मुद्दा ५ र मेलमिलाप भएका ३ वटा छन् । मेयरले न्यायिक समितिको अधिकार मिचेर विवाद निरुपण गर्ने गरेको महानगर उपप्रमुख हरिप्रभा खड्गीले स्विकारिन् । ‘मेयरले न्यायिक समितिको अधिकार क्षेत्रका विषयसमेत हेर्ने गर्नुभएको छ,’ उनले भनिन्, ‘अदालतले यस्ता निर्णय बदर गर्दासमेत मुद्दा हेर्न छाडिएको छैन।’
अन्नपूर्णबाट





























प्रतिक्रिया