काठमाडौं ।
सरकारले कोभाक्स सुविधासँगै अन्य माध्यमबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन गृहकार्य थालेको छ । कोभाक्समा मात्र निर्भर नरही सुरक्षित र प्रभावकारी खोप उपलब्ध हुनासाथ ल्याउन छलफल सुरु भएको हो । यसका लागि सरकारले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोपलाई प्राथमिकतामा राखेको छ ।
ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्स सुविधाबाट सहुलित दरमा आउने भनिएको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको पहिलो लट सन् २०२१ को मार्चसम्ममा आउन सक्ने अनुमान छ । यो वर्षको डिसेम्बरदेखि नै विश्वका धेरै ठाउँमा कोभिडविरुद्धको खोप दिन सुरु भएको छ । ‘सरकारले कोभाक्सबाहेक अन्य तरिका अपनाएर सुरक्षित र प्रभावकारी खोप छिटो ल्याउन तयारी गरिरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।
कोभाक्स सुविधाभन्दा पहिले नै बजारमा खोप उपलब्ध भएमा अन्य तरिका (खरिद गरेर) बाट ल्याउनेबारे छलफल भइरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘कोभाक्सबाट खोप आउन ढिलो भयो भने अन्य माध्यमबाट समेत ल्याउनु पर्ने निर्देशन छ । कोभाक्सलाई मात्र कुर्ने पक्षमा सरकार छैन ।’ नेपाल सरकार र खोप उत्पादन गर्ने मुलुकको सरकार (जी टु जी), नेपाल सरकार र खोप उत्पादन गर्ने कम्पनी र निजी क्षेत्रको माध्यमबाट खोप ल्याउन तयारी भइरहेको डा. अधिकारीले बताए ।
‘जी टु जी र जी टु के (कम्पनी) बाहेक निजी संस्थाले पनि आफू आधिकारिक विक्रेता रहेको भन्दै सरकारले तोकेको प्रक्रियाभित्र खोप ल्याउने प्रतिबद्घता व्यक्त गरे उनीहरूलाई पनि खोप ल्याउन दिनेबारे छलफल भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका अर्का अधिकारीले भने, ‘अर्थ मन्त्रालयले खोप ल्याउनका लागि रकम सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयसँगै छलफल गरिरहेको छ ।’कान्तिपुरबाट





























प्रतिक्रिया